काठमाण्डौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जित निकालेको छ । सुदूरपश्चिमले आइतबार दाङको लमहीमा भएको खेलमा कोशी प्रदेशलाई ३१ रनले हरायो । सुदुरले अन्तिम खेलअघि ८ खेलबाट ३ जित निकाल्न सफल भयो । कोशीले भने ८ खेलबाट १ जित मात्र दर्ता गराउन सफल भएको छ ।

सुदूरपश्चिमले दिएको २४३ रनको लक्ष्य पछ्याएको कोशी ४५.१ ओभरमा २११ रनमा अलआउट भयो । कोशीका लागि शकिब हकले ६२ रन, अंकित सुवेदी र समितर काकीले ३८–३८ रन तथा आइश भट्टराईले ३६ रन बनाए । बलिङमा सुदूरका सूर्य श्रेष्ठले ३ र भोटराज भट्टले २–२ विकेट हात पारे ।

त्यसअघि सुदूरपश्चिम प्रदेशका किरणकुमार ठगुन्नाले शतक प्रहार गरे । उनले एकै सिजन दुई शतक प्रहार गरेका छन् । यससँगै अघिल्लो सिजनको दुई शतक प्रहार गरेका त्रिभुवन आर्मीका क्लब कप्तान विनोद भण्डारीको कीर्तिमान बराबरी गरेका छन् । गत सिजन भण्डारीले एकै सिजन दुई शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए ।

किरणले आइतबार दाङको लमहीमा भएको कोशी प्रदेशविरूद्धको खेलमा शतक प्रहार गरेका हुन् । छैटौं नम्बरमा ब्याटिङ गरेका किरणले ११५ रन बनाउन सफल भए । उनले ९१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्न सफल भए ।
किरणको शतकमा सुदूरपश्चिमले कोशीविरूद्ध आइतबार २४२ रन जोडेको छ । किरणबाहेक सुदूरपश्चिमका अरु ब्याटर सस्तैमा आउट भए । बलिङमा कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए भने फिर्दोस अन्सारी र अंकित सुवेदीले २–२ विकेट लिए । यसअघि किरणले गण्डकीविरूद्धको खेलमा १२१ रन प्रहार गरेका थिए । जारी प्रधानमन्त्री कपमा यो तेस्रो शतक हो । किरणबाहेक जारी प्रतियोगितामा आर्मीका ओपनर त्रृतराज दासले पनि शतक प्रहार गरेका छन् ।
दासले कोशीविरूद्धकै खेलमा ११२ रन बनाएका थिए । अघिल्लो सिजन १० शतक प्रहार पनि यो सिजन संघारमा आइपुग्दा अहिलेसम्म तीन शतक मात्र प्रहार हुन सफल भएका छन् ।