अत्तरिया उद्योग वाणिज्य संघको गरिमा बचाऔँ

maya metro hospital
अत्तरिया उद्योग वाणिज्य संघमा नक्कली टिकट ठेलीले निम्त्याएको विवादको असर अझै कायमै छ । गत वर्ष सञ्चालित महोत्सवमा भेटिएको नक्कली टिकट ठेलीको विवाद जिल्ला अदालत कैलालीमा पुगेर अन्त्यमा मिलापत्रमा टुङ्गिएको थियो । त्यसपश्चात् संघका ११ जना पदाधिकारीहरूले राजीनामा दिएपछि विवाद झन् बढेको छ । मिलापत्र पछि झन् दुई धारमा विभाजित भएको तत्कालीन समिति अहिले उच्च अदालत दिपायलमा पुगेका छन् । जिल्लामा मिलेका दुवै पक्ष उच्च अदालतमा पुगेपछि पुनः समितिका काम कारबाही ठप्प भएका छन् ।
citizen security services
attariya hospital
बहुमत पदाधिकारीहरूले राजीनामा दिएपछि अध्यक्ष कल्याण सिँ बोहराले यही पुस २८ गते ६ जनालाई सदस्यमा मनोनीत गरेका थिए । आफूले संघको विधान २०७१ को परिच्छेद ४ को दफा १४ को बुँदा नं। ५ बमोजिम रिक्त रहेका सदस्यको पद मनोनीत गरेको अध्यक्षको भनाई थियो । तर मनोनीत सदस्यको विषयमा उच्च अदालतमा रिट निवेदन परेपछि अहिले ती सदस्यहरूलाई पनि कामकारबाहीमा रोक लगाइएको छ । उच्च अदालत दिपायलको आइतबारको इजलासले निवेदनको टुङ्गो नलाग्दासम्म नयाँ मनोनीत सदस्यहरूलाई राखेर कुनै पनि निर्णय नगर्न आदेश दिएको छ । जसले गर्दा संघको विवाद अझै उत्कर्षमा पुगेको छ ।
करिब एक वर्षदेखि विवादित बनेको नक्कली टिकट ठेली प्रकरणको विषय हालसम्म पनि सुल्झिन सकेको छैन । जसका कारण संघको नियमित क्यालेन्डर अनुसार लाग्दै आएको सुदूरपश्चिम प्रादेशिक महोत्सव पनि यस वर्ष लाग्न सकेन । विवाद सुल्झाउन पटक पटक छलफल गरिए पनि विवाद घट्नुको साटो बढ्दै गइरहेको छ ।
अत्तरिया उद्योग वाणिज्य संघ व्यवसायीहरूको हकहित र अधिकारका लागि बनेको संस्था हो । यसमा आबद्ध व्यवसायीहरूका हक अधिकार, उनीहरूका समस्या र सुरक्षाका विषयमा खटिनु संघमा आबद्ध पदाधिकारीहरूको कर्तव्य हो । तर करिब एक वर्ष देखीको सो विवादका कारण व्यवसायीहरूले जोगाएर राखेको संस्थाको बदनाम भइरहेको छ भने अस्तित्व नै खतरामा पर्ने देखिएको छ ।
तसर्थ बाल हठ त्यागेर संस्थाको अस्तित्व बचाउनतिर सबैले लाग्न जरुरी छ । व्यवसायीहरूको संस्थालाई व्यवसायीहरूको ऐक्यबद्धताले नै बचाउने हो । त्यसैले यसको व्यवसायीहरू एकजुट भई संस्थालाई निकास दिने कुरामा अघि बढ्न जरुरी छ । संघमा देखिएको विवाद सुल्झाएर नयाँ बाटो सृजना गर्ने कुरामा ढिलाइ गर्नुहुँदैन । विवादकै कारण अत्तरिया उद्योग वाणिज्य संघ प्रति झन्–झन् वितृष्णा बढ्दै जान थालेको छ । त्यसैले जतिसक्दो चाँडो संस्थाको गरिमा बचाउने तिर लाग्न आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.