कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका –१ स्थित सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणका लागि बोलपत्र आह्वान गरिएपछि भारत सरकारको तर्फबाट यसको निर्माण प्रक्रियाले अघि बढेको छ । भारत सरकार सँग भएको सम्झौता अनुसार भारतीय पक्षले जनवरी ४ मै बोलपत्र आह्वान गरेपछि यसको निर्माणको प्रक्रिया अघि बढेको हो ।

भारत सरकारले जारी गरेको बोलपत्र अनुसार बोलपत्र पेस गर्ने अन्तिम मिति २८ जनवरी सम्म रहेको छ । त्यसपछि बोलपत्र ३० जनवरीमा खोलिने बोलपत्रको विस्तृत सम्झौता पत्रमा उल्लेख छ । सम्झौता अनुसार ३० महिना भित्र काम सम्पन्न गरिसक्नुपर्ने सर्त राखिएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकार बिच १ जुन २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार भारतीय पक्षले २ अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँ लागतमा बोलपत्र आह्वान गरेको छ ।

कञ्चनपुरमा निर्माण हुने सुख्खा बन्दरगाहका धेरै फाइदाहरू छन्, जसले समग्र अर्थतन्त्रलाई सकारात्मक असर पु¥याउन सक्छ । यहाँ बन्दरगाह निर्माण भए कञ्चनपुर र अन्य सिमाना क्षेत्रका व्यापारिक गतिविधिहरूमा तीव्रता आउनेछ । यसले नेपाल र भारतबिचको व्यापारमा पनि सहजता ल्याउनेछ । त्यस्तै यस परियोजनाले स्थानीय स्तरमा रोजगारका अवसरहरू सृजना गर्नेछ भने बन्दरगाह निर्माणका लागि आवश्यक पर्ने सडक, रेलमार्ग, गोदाम, र अन्य पूर्वाधारले कञ्चनपुरको भौतिक संरचनामा पनि सुधार ल्याउन सक्छ ।

त्यस्तै बन्दरगाहसँग सम्बन्धित सेवा क्षेत्र, जस्तै ट्रांसपोर्ट, हस्पिटालिटी, र व्यापारिक गतिविधिहरूलाई प्रवर्धन गर्ने अवसरहरू उपलब्ध हुनेछन् । यसले नेपाललाई एक व्यापारिक हबको रूपमा प्रस्तुत गर्नेछ, जसले आर्थिक वृद्धिमा योगदान पु-याउनेछ । भारत र अन्य देशहरूबाट आएका मालसामान नेपालसम्म सहजै ल्याउन सकिनेछ । सुख्खा बन्दरगाहको निर्माणले नेपाललाई व्यापारिक दृष्टिले सशक्त बनाउन र क्षेत्रीय सन्दर्भमा प्रतिस्पर्धात्मकता बढाउन महत्तपूर्ण भूमिका खेल्न सक्छ ।
सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको विकासको सम्भावनाको ढोका खुल्ने छ । सुख्खा बन्दरगाह निर्माणपछि भारतको राजधानी नयाँ दिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठुलो योगदान मिल्ने अपेक्षा लिइएको छ । यस्ता तमामै उपलब्धि र फाइदाहरू हुने भएकाले सुख्खा बन्दरगाह निर्माण हुनु कञ्चनपुरका लागि मात्रै नभई समग्र नेपालकै लागि फाइदाजनक हुन सक्छ । तसर्थ यसको निर्माणमा सरकारी तथा स्थानीय स्तरबाट कुनै विध्नवाधा आउनुहुँदैन ।