सामान्यतया पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्र चट्टान भएको र महाभारतबाट बग्ने नदी यहीँ चुरे क्षेत्र भएर तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्रलाई संवेदनशील मानिन्छ । चुरेको विनाश रोक्न ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ सञ्चालन गरिएको छ । चुरे क्षेत्रमा असर पर्ने कुनै गतिविधि गरिनु हुँदैन । चुरे क्षेत्र विनाश भएमा डरलाग्दो सङ्कट आउन सक्ने विज्ञहरूको भनाई छ ।

चुरे सङ्कटमा परेमा तराईको क्षेत्रमा पनि समस्या आउने उनीहरूले बताउँदै आएका छन् । तर केही वर्ष यता चुरे क्षेत्रको अवैध दोहन भएका कारण समस्या निम्तिन थालेको छ । विकास निर्माणसँगै आउने विनाशले चुरे क्षेत्रका बासिन्दाहरूलाई घर न घाटको बनाइरहेको अवस्था छ । वर्षायाममा आउने बाढिपहिरोका कारण घरबार छोडेर सडकको बास बस्नुपर्ने बाध्यता चुरेवासीको छ । अवैध दोहनकै कारण पछिल्लो समय चुरेमा पहिरोले बस्ती तथा सडकको बेहाल बनाउने गरेको छ । चुरेको अवैध दोहनले सो क्षेत्रलाई मात्रै नभई तराई क्षेत्रलाई पनि उत्तिकै समस्या पार्छ । चुरे भत्केमा तराई मरुभूमिमा परिणत हुने भएकाले जथाभाबी भइरहेको चुरे दोहनलाई रोक्न अनिवार्य छ ।

चुरे क्षेत्रको संरक्षणको लागि सञ्चालित ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ मा सरकारले प्रत्येक वर्ष करोडौँ रकम खर्च गर्दै आइरहेको छ । तर दोहन रोक्न सकिएको अवस्था छैन । चुरेमा भएको दोहनकै कारण यहाँका पशुपालन किसानहरू पनि चिन्तित बनेका छन् । जथाभाबीको दोहनका कारण चुरेमा रहेको चरन क्षेत्र घट्दै जाँदा पशुपालन किसानहरूलाई समस्या पर्न थालेको छ । चुरे क्षेत्रमा बाख्रा पालनका लागि सहज मानिए पनि चरन मै निर्भर रहेर बाख्रा पालन गरिरहेका किसानहरू बाख्रा चराउन घाँसको अभाव हुन थालेपछि समस्यामा पर्न थालेका हुन् । पछिल्लो समय चुरेमा बाढी पहिरोले पनि चरन क्षेत्र घट्दै गएको छ ।
अन्धाधुन्ध खनिएका सडकका कारण चुरेका डाँडा उजाड बन्दै गएका छन् । जसले स्थानीय पशुपालन किसानहरूको समस्या थपिएको हो । चुरेको दोहनले निम्त्याउने समस्यालाई मध्यनजर गर्दै आजै देखी अवैध दोहन रोक्नतिर बढी ध्यान दिइनुपर्दछ । विकासका नाममा विनास निम्तिने गरी कार्य गरिनुहुँदैन । गर्नै परे वातावरणीय मूल्याङ्कन गरेर समस्या नपर्ने गरी काम गरिनुपर्दछ । त्यति मात्रै नभई अवैध रूपमा जमिन ओगट्ने, रुखहरू कटान गर्ने लगायतका क्रियाकलाप गर्ने व्यक्तिलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्दछ । चुरे क्षेत्र रहे मात्रै सबै सुरक्षित रहने भएकाले त्यसको संरक्षणमा सबैले विचार पु-याउन आवश्यक छ ।