कैलालीको गोदावरी धामलाई धार्मिक पर्यटकिय क्षेत्रका दृष्टिकोणले सुदूरपश्चिमकै मुख्य गन्तव्यका रूपमा हेरिन्छ। प्रदेशकै धेरै दर्शनार्थी पुग्ने धार्मिक स्थलका रूपमा समेत यसलाई लिन सकिन्छ। २०७२ सालमा गोदावरीमा महाकुम्भ मेला लागेयता यहाँ माघे सङ्क्रान्तिमा दर्शनार्थीको चाप बढी हुन्छ। गोदावरी धाम विकास समितिले पहिलो पटक गोदावरीमा महाकुम्भ मेला लगाउँदा यस क्षेत्रको व्यापक प्रचारप्रसार गरेको थियो। त्यसपछि यस क्षेत्रले पछि फर्कनु परेको छैन। तर, गोदावरीको प्रचारप्रसारसँगै यहाँ च्याउझैँ विभिन्न समितिहरू उम्रिन थालेपछि हाल गोदावरी धाम बेलगाम जस्तै बन्न पुगेको छ।
यहाँ आफूखुसी मन्दिर निर्माण, मन्दिर पिच्छे समिति र समिति पिच्छे आ-आफ्ना कार्यक्रम सञ्चालन हुन थालेका छन्। त्यसकै झल्को गत वर्ष माघे सङ्क्रान्तिमा पनि देखिएको थियो। गोदावरी धाम विकास समितिले गोदावरी धाम वारी बाह्र राशि दर्शन मकर मेला आयोजना गर्दा पारि पञ्च दशनाम जुना अखडा शिव भगवती मन्दिर गोदावरी तिर्थधामले छुट्टै कार्यक्रम आयोजना गरेको थियो। आमने-सामने माइक लगाएर छुट्टाछुट्टै कार्यक्रम गर्दा कसले के बोलिरहेका छन् भन्ने ठम्याउन पनि सकस परेको थियो।


ति समितिहरू माघे सङ्क्रान्तीका दिन पैसा उठाउन केन्द्रित भएका थिए। दुई ठाउँमा माइक बज्ने, खोला पारी र वारी माइकिङ गरेर यति पैसा दियो उति दियो भनेर भन्ने काम गत वर्ष माघे सङ्क्रान्तीको समयमा भएको थियो। त्यसरी नाम लिएर दर्शनार्थीहरूलाई आफू केन्द्रित पार्न खोजिएको स्पष्ट देख्न सकिन्थ्यो।
यसवर्ष पनि माघे सङ्क्रान्ती आईसकेको छ। माघे सङ्क्रान्तीको अवसरमा विभिन्न क्षेत्रबाट भक्तजनहरू गोदावरीधाममा पुग्ने गर्दछन्। ति भक्तजनहरूले फेरि पनि भजनकृतनको साटो पैसा दिने व्यक्तिका नाम सुन्नुपर्ने अवस्था नआओस्। सो विषयमा स्थानीय तहले पनि विचार पुर्याउन जरुरी छ।
विगतमा धर्मावलम्बीहरूबाट आर्थिक संकलन गर्दै नाम लिँदै गर्ने समितिहरूलाई यसपटक त्यस्तो कार्य गर्नमा रोक लगाउनुपर्दछ। धर्मका नाममा विभिन्न बहाना बनाएर अर्थ संकलन गर्ने कार्य गरिनु हुँदैन। भक्तजनहरूलाई भजनकृतन सुनाउने, धार्मिक मन्त्रहरू उच्चारण गर्ने जस्ता कार्यहरू गर्नेतिर समितिहरूले ध्यान दिनुपर्दछ र सो कुरामा स्थानीय सरकारले समितिहरूलाई निर्देशन दिनुपर्दछ। धार्मिक पर्वलाई मनोमानी रुपमा पैसा उठाउलाई सरकारले कारबाहीको दायरामा पनि ल्याउनुपर्दछ।
















