धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका-१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई पक्राउ परेका छन् । कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा उनी पक्राउ परेका प्रहरीले बताएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले धर्म परिवर्तन शिर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको बताए । भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामाग्री वितरण गर्ने बाहानामा विद्यार्थीहरुलाई ईसाई धर्ममा लाग्न प्रेरित गरेको आरोप छ ।

उनले लम्कीचुहा-१ मा रहेको शहिद स्मृती माध्यमिक विद्यालयमा विद्यार्थीलाई बाइबल र इसुको बारेमा प्रचार गर्दै ईसाइ धर्म अंगाल्न अनुरोध गरेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियो सार्वजनिक भएपछि नै प्रहरीले यसबारे चासो लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।



















