खाेज्नुहाेस

जलवायुमैत्री कृषि प्रणाली अपनाऔँ

Image

नेपाल कृषि प्रधान देश हो । परापुर्वकालदेखी नै नेपालको मुख्य पेसाका रूपमा कृषिलाई लिने गरिन्छ । कृषि प्रधान देशका रूपमा परिचित भए पनि नेपाल अझै पनि कृषिमा आत्मनिर्भर बन्न सकेको छैन । नेपालमा अझै पनि दलहन, तेलहन, ताजा तरकारी, फलफूल, बोटबिरुवा, जडीबुटी, दाल, लसुन, आलु लगायतका कृषिजन्य वस्तुहरू दैनिक आयात भइरहेका छन् ।

जलवायु परिवर्तनका कारण अपेक्षित उत्पादन नहुनाले पनि कृषकहरूले पछिल्लो समय कृषि पेसाबाट बिट मार्दै आइरहेको अवस्था छ । कृषि क्षेत्रमा केही गर्छु भन्ने हुटहुटी बोकेर त्यतातिर होमिएकाहरू समेत कृषि क्षेत्रमा सरकारको नीतिगत असमर्थताका कारण पलायन भइरहेका छन् । सरकारले कृषि क्षेत्रलाई महत्वका साथ राख्ने गरेको बताउँदै आए पनि हालसम्म पनि कृषिका क्षेत्रमा अपेक्षित उपलब्धिहरू हुन सकेका छैनन् । जसका कारण कृषिप्रधान देश भनिए पनि नेपालमा कृषिजन्य वस्तुहरूको आयात दिनहुँ बढ्दै गइरहेको छ ।

attariya hospital
navjiwan hospital

जलवायु परिवर्तनका कारण किसानहरूले विभिन्न समस्याहरू खेप्दै आइरहेका छन् । भनेको समयमा सिँचाई नपाइने, बेमौसमी वर्षाका कारण बाली बिग्रने लगायतका चिन्ता किसानहरूले बर्सेनि झेल्दै आइरहेका छन् । तर किसानहरूलाई पुनरुत्थान गर्ने तथा उनीहरूको क्षतिप्ुर्तिका योजनाहरू सरकारले बनाउन सकेको छैन । किसानहरूलाई कृषिमा आत्मनिर्भर बन्ने वातावरण तयार गर्न जलवायु मैत्री कृषि प्रणालीमा ध्यान दिन आवश्यक छ ।

जलवायु परिवर्तनका प्रभावहरूसँग अनुकूलन भई हरित गृह ग्यासको उत्सर्जनलाई कम गर्ने तथा कृषि उत्पादनमा वृद्धि गरी कृषक तथा समाजको खाद्य सुरक्षा सुनिश्चितता गर्ने प्रणाली जलवायु मैत्री कृषि प्रणाली हो । जलवायुमैत्री कृषिको सुरुवात खाद्य तथा कृषि सङ्गठनको सन् २०१० मा नेदरल्याण्डमा भएको खाद्य सुरक्षा तथा जलवायु परिवर्तनको सम्मेलनबाट भएको हो । जलवायुमैत्री कृषिका ३ उद्देश्यहरू छन् ः कृषिमा उत्पादन तथा आम्दानी बढाउने र खाद्य सुरक्षित देश निर्माण गर्ने, हरित गृह ग्यास उत्सर्जनमा कमी ल्याउने र जलवायु परिवर्तनका अनुकूलनहरू निर्माण गर्ने ।

जलवायु परिवर्तनले अनिकाल, रोगको महामारी, पानीको उपलब्धतामा कमी, बाढी पहिरो, जैविक विविधतामा असर आदी हुने गर्दछन् । त्यसबाट बच्नका लागि जलवायु मैत्री कृषि प्रणालीलाई प्रयोगमा ल्याउन अनिवार्य छ । सरकारको नीतिमा जलवायुमैत्री कृषि प्रणाली समेटिएको भए पनि त्यसको प्रभावकारी विस्तार र कार्यान्वयनमा सरकार चुकेको छ ।

जलवायु परिवर्तन र सोबाट सृजित समस्या तथा चुनौतीका कारण कृषि क्षेत्र अत्यधिक प्रभावित भएको छ । तसर्थ जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने विद्यमान कृषि प्रणालीमा अनुकूलता ल्याउनुपर्ने मुख्य चुनौती रहेको छ । यसका लागि प्रविधिहरूको निरन्तर विकास तथा विस्तार, कृषकहरूको क्षमता अभिवृद्धि, प्रविधिहरू अनुसरण गर्न प्राविधिक सहयोगका साथै कृषकको जीवनस्तर सुधार गरी लक्षित कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेकाले त्यतातिर सरकारले ध्यान दिन जरुरी छ ।