नेपालको सहकारी आन्दोलनले विगतमा समुदायलाई आर्थिक सशक्तिकरण र समृद्धिको मार्गमा लैजान महत्वपूर्ण योगदान दिएको छ । ग्रामीण र शहरी क्षेत्रमा सहकारीहरूले आपसी सहयोग र आर्थिक अवसरको आधारशिला राख्न सफल भए पनि पछिल्लो समय यस क्षेत्रमा विभिन्न घोटाला र अनियमितता सार्वजनिक भएका छन् । केही सहकारी संस्थाहरूले गैरजिम्मेवारीपूर्वक ठगी गरेको आरोप लागेका घटनाहरूले सम्पूर्ण सहकारी क्षेत्रको साखमा आँच पु¥याएको छ ।

पछिल्ला ठगीका घटनाहरूमा संस्थाका पदाधिकारीहरूबाट नै अनियमितता भएको पाइन्छ । सदस्यहरूको रकम हिनामिना गर्ने, झुटा प्रतिवेदन पेश गर्ने, सदस्यहरूलाई विश्वासमा लिएर ठगी गर्ने जस्ता घटनाहरूले सहकारीप्रतिको विश्वासलाई कमजोर बनाइरहेको छ । यी घटनाहरूमा प्रमुख रूपमा ‘सहकारी बचत तथा ऋण संस्थाहरू’ जोडिएका छन्, जहाँ सदस्यहरूको बचत रकम ठगिने गरेको छ । पछिल्लो उदाहरणको रूपमा काठमाडौंका केही सहकारीहरूले ठूलो परिमाणमा ठगी गरेको घटना सार्वजनिक भएको छ, जसमा करोडौं रुपैयाँ हराएको पाइएको छ ।

यस समस्यालाई समाधान गर्न सरकार र सहकारी नियमनकारी निकायहरूले कडा कदम चाल्न आवश्यक छ । सहकारीमा पारदर्शिता, जिम्मेवारी र नियमहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । सहकारीहरूले सदस्यहरूका खातामा नियमित वित्तीय प्रतिवेदन उपलब्ध गराउन र बाह्य अडिटको व्यवस्था गर्नुपर्छ । साथै, ठगीमा संलग्नहरूलाई कडा कानुनी कारबाही गरिनु पर्छ, जसले भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदियोस् ।
सहकारी आन्दोलनको आधार नै विश्वास र आपसी सहयोगमा टेकेर अगाडि बढेको हो । त्यसैले, सहकारीको साख जोगाउन हामीले जिम्मेवार नेतृत्व, कडा नियमन, र सदस्यहरूको सक्रिय सहभागिता अनिवार्य बनाउनुपर्छ । यस्तै प्रयासहरूले मात्र सहकारीलाई फेरी विश्वासिलो र प्रभावकारी बनाउन सकिन्छ ।

















