खाेज्नुहाेस

लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर

Image

अत्तरिया – विकास निर्माणका काममा ठेकेदारले ढिलासुस्ती र लापवाही गर्दा पनि सरकारले उनीहरूलाई कारबाही गर्न खुट्टा कमाउँदै आएको छ । स्थानीय सरकार देखि संघ सरकारका योजना लिएर काम नगर्ने ठेकेदार माथि सरकारले कारबाही गर्न नसक्दा विकास निर्माणका काम वर्षै देखि लथालिङ्ग रहँदै आएका छन् भने जनताले सास्ती खेप्नु परिरहेको छ ।

यस्तै लापरबाही गर्ने ठेकेदारलाई स्थानीय सरकारले बेवास्ता गर्दा अहिले अत्तरियामा रहेको आदर्श गल्ली बासिले दुःख पाइरहेका छन् । स्थानीय सरकारले सडकलाई स्तरीय बनाउने भन्दै गत आर्थिक वर्षमा नै ठेक्का सम्झौता गरेको सडक झन् बिगारेर ठेकेदार बेपत्ता छन् ।

attariya hospital
navjiwan hospital

आधा भन्दा बढी सडक कालोपत्रे हुँदा ठेकेदारले सम्झौता अनुसार पुरै कालोपत्रे गर्ने भन्दै ८ महिना अघि भएको कालोपत्रे पनि उप्काएको थियो । गोदावरी नगरपालिकाले सडक कालोपत्रे गर्ने भन्दै कुमार शिशिर कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरेको थियो । गत आर्थिक वर्षको कार्यक्रम अन्तरगत नगरपालिकाले ठेकेदार सँग सम्झौता गरेको भए पनि ठेकेदारले गत वर्ष भएको कालोपत्रे सडक उप्काएका थिए । कालोपत्रे उप्काएपछि हाल सो सडक हिलाम्मे र धुलाम्मे हुने गरेको छ । ठेकेदार कम्पनीले गत वर्ष जेठ महिना नै सडकमा जेसिवी लगाएर पुरै सडकको कालोपत्रे उप्काए पछि अहिले स्थानीयले सास्ती खेप्नु परेको छ ।

करिब २२५ मिटर लम्बाई रहेको उक्त सडकको कालोपत्रे उप्काएर अहिले सडकमा आवतजावत गर्न पनि समस्या हुने गरेको छ । कालोपत्रे उप्काएपछि अहिले सडकमा जताततै खाल्डा परेका छन् भने सडकमा छरिएका ढुङ्गाका कारण दुर्घटनाको जोखिम पनि बढेको छ । यसरी सडक झन् बिगारेर ८ महिना सम्म ठेकेदार नफर्किँदा पनि ठेक्का दिने नगरपालिका मौन रहेको छ ।

जसले गर्दा ठेकेदारले काम गर्ने तदारुकता देखाएका छैनन् । यसरी जनताले दुःख पाउँदा पनि यस्ता ठेकेदारलाई छुट दिनु नगरपालिकाको पनि गैर जिम्मेवारीपन हो । त्यसैले यस्ता ठेकेदारलाई कारबाही गर्न नगरपालिकाले तदारुकता देखाउन आवश्यक छ ।