कैलालीको गेटामा ठुला ठुला भवनहरू ठडिएका छन् । सरकारले २०७९÷८० को नीति तथा कार्यक्रममै प्रत्येक प्रदेशमा २ वटा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेको थियो । जसअनुसार सबै प्रदेशमा हाल मेडिकल कलेज, प्रतिष्ठान स्थापना भए पनि सुदूरपश्चिमलाई भने अझै यो नीतिले छुन सकेको छैन । सरकारले सुदूरपश्चिममा २०७४ सालदेखि नै प्रस्तावित गेटा मेडिकल कलेजका नाममा भौतिक संरचना निर्माणको काम अगाडी बढाएको थियो । हाल भौतिक संरचनाहरू निर्माणको प्रक्रिया सम्पन्न भैसकेको छ ।
देशभर २३ वटा मेडिकल कलेज प्रतिष्ठान स्थापना भइसक्दा पनि करिब २८ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिममा भने अझै सरकारले एउटा पनि मेडिकल कलेज स्थापनाका लागि तदारुकता देखाएको छैन । सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय सञ्चालन हुनुपर्ने भन्दै स्थानियबासीहरु लगातार आवाज उठाइरहेका छन् । ठडिएका भवन सञ्चालनमा नल्याइएको भन्दै यस क्षेत्रका जनतामा व्याप्त निराशा छ । लामो समयको प्रतीक्षापछि भवन ठडिए पनि ती भवन प्रयोग विहीन भएको भन्दै बेला बेलामा विरोधका कार्यक्रम पनि हुँदै आएका छन् ।
यसबिच भवन निर्माण सम्पन्न भएर सरकारले नै मन्त्रिपरिषद्बाट गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । गेटामा अस्पताल, चिकित्सा शिक्षा अध्ययनका लागि आवश्यक पर्ने भवन निर्माण भएको तीन वर्ष पुग्न लागेको छ । सरकारले विश्वविद्यालय बनाउने निर्णय गरेको पनि डेढ वर्ष भन्दा बढी समय बितिसकेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार हाल विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन अवस्थामा छ । उक्त विधेयक पनि राष्ट्रिय सभाले २०८० माघ १९ मा पारित गरेको भए पनि राष्ट्रिय सभाबाट पारित हुन भने ढिलाइ भएको गुनासो स्थानीयले गर्दै आएका छन् ।
यस क्षेत्रका जनताले यहाँबाट प्रतिनिधित्व गर्ने नेताहरूले पनि गेटामा अस्पताल सञ्चालन गरेर चिकित्सा शिक्षा अध्यापन गराउन चासो नदिएको गुनासो गर्दै आएका छ । लामो समय मोडालिटीको विषयका कारण विवादित बनेको गेटामा हाल मोडालिडीको विषय टुङ्गिएर विश्वविद्यालयको विधेयक विचाराधीन अवस्थामा हुँदा सुदूरपश्चिमकै नेताहरूले पनि अनविज्ञता प्रकट गर्न थालेका छन् ।
गेटामा के बनाउने भन्ने विषयमा अहिले कन्फ्युजन भएको भन्दै अनविज्ञता प्रकट गर्दै गर्दा यहाँका जनतामा निराशा छाउनु स्वाभाविक हो । सुदूरपश्चिमेली जनताले निर्वाचनमा जिताएर ठाउँमा पु¥याएका नेताहरूले नै जनताको आशा अनुसार काम गर्न सकेका छैनन् । यहाँका जनताको माग र लामो समयको सङ्घर्षले मूर्त रूप लिइरहेको अवस्थामा अझै पनि केन्द्र तहका शीर्ष नेताले अनविज्ञता प्रकट गर्नु भनेको यहाँको स्वास्थ्य प्रति संवेदनशील नबन्नु हो ।
सुदूरपश्चिमका जनतालाई स्वास्थ्य क्षेत्रमा फड्को मार्ने अवसर प्रदान गर्ने मुख्य जिम्मेवारी लिएका व्यक्तिले यहाँको स्वास्थ्य क्षेत्रप्रति संवेदनशील बन्नुपर्दछ । २८ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिमका नागरिकको स्वास्थ्य सँग जोडिएको विषयमा सुदूरपश्चिमबाटै निर्वाचित भएर केन्द्र तहमा नेतृत्व गरिरहेका नेताहरूले जोड बल दिन आवश्यक छ । त्यसैले सुदूरपश्चिमेली जनताको चाहना बमोजिम गेटामा सरकारले घोषणा गरे बमोजिम मेडिकल विश्वविद्यालय सञ्चालनमा ल्याउनु पर्छ ।