कैलालीको अत्तरियामा सम्पन्न आठौँ संस्करणको महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको गुत्थी अहिले सम्म पनि सुल्भिएको छैन । अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौँ दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए । जसमा संघका अध्यक्ष, निवर्तमान अध्यक्ष, महासचिव, सचिव, एक जना सदस्य र टिकट काट्ने जिम्मा पाएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस स्ववियु सभापतिका नाममा किटानी जाहेरी दिइएको थियो । उनीहरूलाई प्रहरीले हिरासतमा राख्नुका साथै जनही ५० हजार धरौटी लिएर छोडे पनि सो मुद्दा हाल अदालतमा विचाराधीन छ ।
अदालतले मुद्दाको सुनुवाइ गर्न ढिलाइ गरिरहेको आरोप लाग्न थालेको छ । सो मुद्दामा मुछिएका व्यक्तिहरू राजनीतिक रूपमा बलियो भएकाले मुद्दाको सुनुवाइमा ढिलाइ भइरहेको भन्दै स्थानीय स्तरमा गुनासो बढिरहेकाले उक्त मुद्दाको यथाशीघ्र सुनुवाइ हुन आवश्यक छ ।
उक्त नक्कली टिकट प्रकरणका कारण उद्योग वाणिज्य सङ्घप्रति व्यापारीहरूको वितृष्णा बढ्दो छ । संघका कुनै पनि गतिविधिहरूमा अहिले व्यवसायीहरूले सहयोग गर्ने भन्दा पनि आलोचना गर्ने गरिरहेका छन् । त्यति मात्रै नभई नक्कली टिकट ठेली प्रकरणले आयोजकको सम्मानमै चोट पुगेको छ । यो प्रकरणलाई आर्थिक रूपमा सामान्य लिइए पनि यसले समितिमाथि गम्भीर नैतिक प्रश्न उठाएको छ । विगत देखि पटक पटक महोत्सव घाटामा जानुको कारण यसअघि पनि नक्कली टिकट ठेली काटिएर त, होइन भन्ने प्रश्न पनि आयोजक माथि तेर्सिएको छ ।
आयोजक अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाका व्यवसायीको संस्था भएकाले नक्कली ठेली प्रकरणले यस क्षेत्रकै बदनाम भएको आवाज पनि उठ्न थालेको छ । अत्तरिया क्षेत्रकै एक प्रतिष्ठित सार्वजनिक संस्थामाथि संस्थाकै बदनाम र आर्थिक नोक्सानी हुने गरी लागेको दाग मेटाउन अब समितिले ढिला गर्नु हुन्छ । प्रदेशकै कृषि, पर्यटन र व्यापारको विकासका लागि आयोजना गरिएको महोत्सवमा केही सीमित व्यक्तिले नक्कली ठेली बनाएर गरेको कमाउने धन्दाको पर्दाफास हुन जरुरी छ । यसका लागि समितिले आफैले अनुसन्धान गर्ने भन्दा पनि राज्यका निकायलाई सहयोग गरी यसको अनुसन्धान गराउन आवश्यक छ ।
राज्यका निकायले पनि उक्त मुद्दालाई निष्पक्ष रूपमा छानबिन गर्नुपर्दछ । सयौँ व्यवसायीहरूको प्रतिनिधित्व गर्ने गरी गठन गरिएको समितिको गरिमा राख्नका लागि पनि दोषी छिटो पत्ता लाग्न जरुरी छ । त्यसका लागि अदालतको फैसला नै अन्तिम हुनेछ । अदालतको फैसला पछि नै मुद्दाको टुङ्गो लाग्ने भएकाले सो मुद्दामा अदालतले त्यसमा विचार पु¥याउन आवश्यक छ । अदालत माथि लागिरहेका आंशका, आरोप तथा गुनासाहरू चिर्न पनि अदालतले मुद्दाको फैसलामा ढिलाइ गर्नुहुँदैन ।
सम्बन्धित भिडियो