कञ्चनपुरको उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष बितिसकेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चित बनेको सो घटना घटेको ६ वर्ष बितिसक्दा पनि अहिले सम्म निर्मलाका हत्यारा पक्राउ परेका छैनन् ।
२०७५ साल साउन १० गते बलात्कार पछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो । साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केको भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा निर्मला मृत फेला परेकी थिइन । हत्या भएको ६ वर्षको अवधिसम्म आइपुग्दा पनि निर्मलाको परिवारले भने न्याय पाउन सकेको छैन ।
घटनापछि दोषीलाई कारबाहीको माग राख्दै लामो समयसम्म आन्दोलन नै भयो । उक्त आन्दोलनमा अर्का बालक सन्नी खुनाले पनि अकालमै ज्यान गुमाउनु परेको थियो । केही व्यक्ति घाइतेसमेत भए । त्यो आन्दोलनले जनधनको समेत क्षति हुन पुग्यो । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा एक सयभन्दा बढी व्यक्तिहरूमा अनुसन्धान ग¥यो । केहीलाई त थुनामै पनि राख्यो । तर पनि सरकारले घटनामा संलग्न अपराधीलाई अझैसम्म पनि पत्ता लगाउन सकेको छैन ।
घटनाको अनुसन्धानका लागि ६ वटा समिति बने पनि कुनै समिति निर्मलाका दोषी नजिक पुग्न सकेका छैनन् । निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न हालसम्म प्रहरीले १२४ जनाको डिएनए जाँच गरिएको छ भने ६५५ जनासँग सोधपुछ गरेको छ । प्रहरीले मोबाइल लोकेसनका आधारमा हालसम्म बीटीएस ट्र्याकमा देखिएका करिब ५०० मोबाइलको प्राविधिक विश्लेषण समेत गरेको छ । लामो समय सम्म गरिएको अनुसन्धानमा हालसम्म राज्यको ३२ लाख ९० हजार खर्च भइसकेको भए पनि नतिजा शून्य छ ।
लामो समय देखि घटनाको अनुसन्धान चलिरहेको बेला आफू प्रत्यक्षदर्शी भएको भन्दै एक जना व्यक्तिले अन्तरवार्ता दिएपछि अहिले सामाजिक सञ्जालमा सनसनी मच्चिएको छ । आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने गोरखाका नवराज अर्यालले पत्रकार ऋषि धमलाको प्राइम सो जनता जान्न चाहन्छनमा मंगलबार आफू निर्मला पन्त बलात्कार घटनाको प्रत्यक्षदर्शी भएको बताएका थिए । उनले आफूलाई राज्यले सुरक्षा दिए नाम बताउने बताएका थिए ।
अर्यालले त्यसो भनिरहँदा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ गरेर उनलाई हाजिर जमानीमा छाडेको छ । सिआईबीले अर्यालले अन्तरवार्तामा झुटो विवरण पेस गरेको समेत बताएको छ ।
अनुसन्धानकै क्रममा रहेको केसको आफूलाई प्रत्यक्षदर्शी बताउने अर्याललाई राज्यले सुरक्षा दिएर सूक्ष्म रूपमा अनुसन्धान थाल्न जरुरी छ । राज्यलाई बदनाम गराइरहेको उक्त घटनाको निक्र्याैल निकाली अपराधीलाई कानुनको दायरामा ल्याउनका लागि सरकारले केही कदम चाल्नै पर्छ । आफूलाई प्रत्यक्षदर्शी बताउने अर्यालको बयानलाई नकार्न सकिने अवस्था छैन । तसर्थ अर्याललाई सुरक्षा दिई अपराधीहरूको बारेमा जानकारी लिने काम गर्न प्रहरीले पनि कन्जुस्याइँ गर्नुहुँदैन । राजनीतिक दबदवाका कारण दबिएको भनिएको उक्त घटनाको जरो उखेल्ने कार्यमा कञ्चनपुरकै नेता तथा गृहमन्त्री रमेश लेखकले पनि ध्यान दिनुपर्दछ ।
हत्यारा पत्ता लाग्नुपर्ने भन्दै सडक आन्दोलनमा सहभागी हुने व्यक्ति अहिले आफै नेतृत्व तहमा पुगेको अवस्था छ । त्यसैले यो समयमा पनि निर्मलाले न्याय पाउन नसके त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको हुन जान्छ । लेखकको सबैभन्दा ठुलो चुनौतीका रूपमा निर्मला हत्याकाण्ड हुनेछ । त्यसैले निर्मला पन्त घटनाको सूक्ष्म रूपमा अनुसन्धान गरी वास्तविक हत्यारा पत्ता लगाउने कार्यमा सरकार चुक्नु हुँदैन ।