कैलालीको गोदावरी नगरपालिकामा पर्यटकीय स्थल बनाउने होडबाजी नै चलेको छ । विभिन्न शीर्षकमा फरक फरक स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना बनाउँदै बजेट ल्याउने र योजना अलपत्र पार्ने गरिएको छ ।
बुढीतोलामा अत्तरिया धनगढीको दृश्य अवलोकन गर्ने गरी ८ वर्ष अघि भ्यु टावरको योजना अघि सारिएको थियो । उक्त योजना अनुसार भ्यु टावरको काम अघि बढाइयो । संघीय सरकारको स्वीकृत कार्यक्रम अन्तर्गत प्रदेश सरकारको बहु वर्षीय योजनामा राखिएको उक्त टावरमा १ करोड ८० लाख लागत लाग्ने गरी स्टमेट बनाइएको थियो । योजना अनुसार करिब ४६ लाख खर्च गरेर ४ वर्ष अघि नै भ्यु टावरको २ तला ढलान गरिएको भए पनि हाल उक्त संरचना अलपत्र परेको छ ।
त्यस्तै गोदावरी नगरपालिकाको प्रवेशद्वारमा ५ वर्ष अघि बुढितोला पिकनिक पार्क निर्माण गरिएको थियो । बुढीतोलामा घुम्न जाने पर्यटक र पिकनिकका लागि जानेहरूका लागि पिकनिक स्थल सहित पार्क निर्माण गरिएको थियो । उक्त पार्कमा संघ सरकारको बजेटबाट तार जाली, बस्ने बेन्च र पार्कको बाटो निर्माण गरिएको थियो भने प्रदेश सरकारको १० लाख बजेटमा स्टोर रुम, भान्सा र शौचालय निर्माण गरिएको थियो । तर, उक्त पार्कको पनि उचित संरक्षण नहुँदा न त्यहाँ अपेक्षा गरे अनुसार मानिस जाने गरेका छन्, न पार्क हेर्न लायक नै बन्न सकेको छ । अहिले पार्कमा जताततै झाडी उम्रिएर पार्कको सौन्दर्यता नै खस्किएको छ ।
पर्यटकीय क्षेत्र बुढीतोलामा राज्यको लाखौँ लगानी गरेका पर्यटकीय स्थल अलपत्र पर्दा हाल बुढीतोला नजिकै सेल्फी डाँडामा निजी क्षेत्र सँगको लागत साझेदारीमा अर्को योजना अगाडि सारिएको छ । सेती सामुदायिक वन र बालग्रीस ट्रेडिङ्स प्रालिको संयुक्त साझेदारीमा सञ्चालित पर्या पर्यटन कार्यक्रम अन्तरगत हाल सेल्फि डाँडा सहितको करिब ३ बिगाहा क्षेत्रफलमा जाली लगाइएको छ ।
गोदावरीको बुढीतोला तराइको सबैभन्दा नजिकको पहाडको हावापानीको आनन्द लिन सकिने ठाउँ हो । यहाँ विशेष गरेर तराइको गर्मी छल्न मानिसहरू बढी जाने गर्दछन् । प्राकृतिक रूपमै पर्याप्त पर्यटकीय सम्भावना भएको यस क्षेत्रमा राज्यबाट पर्यटन क्षेत्रको विकासका लागि लाखौँ रकम खर्च गरिए पनि ती प्रभावकारी हुन सकेका छैनन् । केही अघि सारिएका योजना कार्यान्वयन नै हुन सकेका छैनन् भने केही कार्यान्वयनमा आएका योजना पनि अलपत्र अवस्थामा रहेका छन् ।
एउटै योजनाको विकासका लागि बजेट ल्याउनुको साटो फरक फरक योजना बनाएर बजेट ल्याई आधा मात्रै काम गर्ने प्रवृत्तिका कारण यहाँका धेरै जसो योजनाहरू अलपत्र परेका छन् । आधा निर्माण भएर बजेट अभावका कारण रोकिएका योजनाहरूलाई सम्पन्न गर्ने लक्ष्य राखी कार्य थालिएको भए सम्भवतः हालसम्म अधुरा सबै योजनाहरू पुरा भैसकेका हुन्थे । आफ्नो क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेका योजनाहरू सम्पन्न गर्ने कार्य स्थानीय सरकारको हो । आफ्नो बजेट ले भ्याउन सक्ने अवस्था नभए पनि प्रदेश एवम् संघ सरकारसँग सहकार्य गरेर नगरका त्यस्ता योजनाहरूलाई पूर्णता दिइनुको साटो पुनः अर्को योजना ल्याएर त्यसमा बजेट विनियोजन गराउनु उचित हैन । सरकारले अधुरा योजनाहरूलाई पूर्णता प्रदान गर्ने तिर ध्यान दिनुपर्दछ ।