पछिल्लो समय थारु आलुको माग बढ्दो छ । कैलाली कञ्चनपुरमा मात्रै नभई सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि यसको माग बढ्दो छ । थारु आलु प्रवर्द्धनको लागि कैलालीमा प्रदेश सरकार र स्थानीय तहबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । तथापि माग अनुसारको बिउ भने कुनै पनि स्थानीय तहहरूले पाउन सकेका छैनन् । स्थानीय तहहरूले कृषकलाई निःशुल्क वितरण गर्ने भन्दै बिउ माग गरेको भए पनि माग अनुसारको बिउ पाउन सकिरहेका छैनन् ।

स्वास्थ्यवद्र्धक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहिने र डढुवा लगायतका रोग सहन सक्ने भएकाले यस आलुको खेती प्रति किसानहरू पनि आकर्षित भएका छन् । हाइब्रिड र उन्नत जातको आलुले बजार ओगटेको भए पनि यस्तो आलुको खेती गर्दा किसानहरूले विभिन्न रोग किराको समस्या झेल्नुपर्ने, भण्डारण गर्दा पनि कुहिने समस्या हुने भएकाले पछिल्लो समय रैथाने थारु आलुको प्रवर्द्धन गर्न लागिएको छ ।

स्थानीय तथा प्रदेश सरकारले ठेक्का प्रक्रियामार्फत बिउ माग गर्ने गर्दछन् । तर ठेकेदारले माग बमोजिमको बिउ नै उपलब्ध गराउन सकिरहेको अवस्था छैन । कतिपय पालिकाहरूले त बिउ नपाइने समस्याका कारण कार्यक्रम नै रद्द गर्नुपर्ने अवस्था आइरहेको छ । थारु आलुको लोकप्रियता बढ्दै गएको भए पनि व्यवसायी रूपमा यसको बिउ उत्पादन नहुँदा यसको संरक्षण र व्यवसायी उत्पादन गर्न समस्या हुँदै आएको छ । थारु आलु चाँडै फल्ने र राम्रो फसल दिने उन्नत र हाइब्रिड जातका आलुको तुलनामा कम उत्पादन दिए पनि स्वादिलो र बजारमा मूल्य पनि बढी पाइन थालेपछि पछिल्लो समय थारु आलु प्रति उपभोक्ताको पनि आकर्षण बढ्दो छ ।
यो आलु लामो समय सम्म भण्डारण गर्न सकिने भएकाले सिजन भन्दा पछि पनि किसानहरूले बिक्री गर्न पाउने भएकाले राम्रो मूल्य पाउने गरेका छन् । सुदूरपश्चिमका कैलाली कञ्चनपुरमा रैथाने थारु समुदायमा वर्षौँ पहिले देखि यो आलुको खेती गरिँदै आएको छ । कैलालीमा यसको कति क्षेत्रफलमा खेती गरिन्छ भन्ने बारेमा कृषि ज्ञान केन्द्र कैलाली सँग यकिन तथ्याङ्क नभए पनि यो आलु थारु बस्ती भएका कैलालीका सबै क्षेत्रमा खेती गरिँदै आएको छ । यो आलु चौधरी समुदायमा किसानले घरमै परम्परागत प्रविधि प्रयोग गरेर लामो समय सम्म भण्डारण गरेर राख्ने भएकाले यसका लागि कोल्ड स्टोर पनि आवश्यक नपर्ने कृषि प्राविधिकहरूको भनाइ छ ।
किसानहरूका लागि फाइदाजनक देखिएको थारु आलुको बिउ पाउन हम्मे हम्मे छ । सरकारले किसानहरूलाई रैथाने थारु आलुको बिउ सहज रूपमा उपलब्ध गराउन सक्ने गरी योजना बनाउन आवश्यक छ । रैथाने आलु को बिउ व्यवसायी रूपमा उत्पादन गर्ने र त्यसको संरक्षण गर्ने विषयमा पनि ध्यान दिइनुपर्दछ । विगतदेखि नै सो आलुको उत्पादन गरिरहेका किसानहरूलाई थप प्रोत्साहन दिने किसिमका कार्यहरू गरी उनीहरूलाई थारु आलुको उत्पादनमा वृद्धि गर्न सक्ने अवस्था तयार पारिनुपर्दछ । स्थानीय एवम् प्रदेश सरकारले रैथाने थारु आलुको बिउ प्रवर्द्धनका लागि प्राथमिकताका साथ अगाडि बढ्नुपर्दछ ।

















