काठमाडौँ- आज ४४औँ विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सुखी जीवन र समुन्नत भविष्यको लागि खाद्य अधिकार’ भन्ने नाराका साथ विश्व खाद्य दिवस मनाउन लागिएको हो ।
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको आह्वानमा हरेक वर्ष अक्टोबर १६ तारिखमा यो दिवस मनाइन्छ । विश्वभर खाद्यान्न सङ्कट र भोकमरीविरुद्ध ऐक्यबद्धता जनाउँदै दिवस मनाइने गरिन्छ ।
नेपालको संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । तर, नेपालमा अझै पनि १३ प्रतिशत जनसङ्ख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको स्थितिमा छन् ।
दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार कोही भोकै पर्दैनन् र भोकले कोही मर्नु पर्दैन भन्ने कार्यक्रमका साथ अगाडि बढिरहेको दाबी गरेका छन् ।