कैलालीको गोदावरी नगरपालिका– ४ मा एउटा निर्माणाधीन अवस्थाको कल्भर्ट गुणस्तरहीन भएको भन्दै भत्काइयो । करिब ३ महिनाअघि सो क्षेत्रका स्थानीयहरूले ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग गरेर रातीको समयमा कल्भर्ट ढलान गर्न लागेको भन्दै काम रोकेपछि सो निर्माणाधीन अवस्थामा रहेको कल्भर्ट भत्काएर नयाँ बनाइएको थियो । स्थानीयहरूले ल्याब टेस्ट गरेर कल्भर्ट निर्माण हुनुपर्ने बताए पनि नगरपालिकाले भने ल्याब टेस्ट नगरेरै कल्भर्ट भत्काएको थियो ।
तर, सो विवाद साम्य भएको ३ महिना नबित्दै पुनः सोही वडाको अर्को कल्भर्ट निर्माणमा पनि विवाद देखिएको छ । सो कल्भर्ट पनि गुणस्तरहीन भएको स्थानीयहरूले आरोप लगाएका छन् । वडाको बास्कोटा, खैराना हुँदै वसन्तपुर जोड्ने रिङ्गरोड अन्तरगत खैरानामा निर्माणाधीन कल्भर्ट कमसल बनाइएको स्थानीयहरूको आरोप छ । उक्त कल्भर्ट कमसल सामाग्री प्रयोग गरिदा ढलान गर्ने समयमै लच्किएको भए पनि नचर्किएको भन्दै त्यस्तै छोडिएको उनीहरूले बताएका छन् ।
यसअघि भत्काइएको कल्भर्टको ल्याब टेस्ट गरिएको थिएन । त्यस बखत ल्याब टेस्ट नभईकनै ठेकेदारको गल्ती ढाकछोप गर्नका लागि कल्भर्ट भत्काएर पुनः बनाउन लगाएको आरोप लागेको थियो । फेरी सोही ठेकेदार कम्पनीले निर्माण गरिरहेको अर्को कल्भर्टमा पनि समस्या देखिनुले निर्माण सामग्रीहरूको गुणस्तरमा प्रश्न उठ्नु जायज छ ।
निर्माणका सवालमा गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कारबाही गर्न ल्याब टेस्ट अनिवार्य छ । त्यस्ता कार्यहरूमा ठेकेदारका गल्तीहरू ढाकछोप गर्ने काम गरिनु राम्रो होइन । ल्याब टेस्टले गुणस्तर हीन कार्य भएको ठह¥याएमा ठेकेदार कारबाहीको भागीदार हुन्छ । तर ल्याब टेस्ट नै नगरी कल्भर्ट भत्काइँदा त्यसले ठेकेदारको गल्तीलाई प्रशय दिएको आभास हुन जान्छ । पहिलो कल्भर्टमा ल्याब टेस्ट नगरेरै ठेकेदारलाई बचाइएकोमा अहिले पनि ढलानको समयमा लच्किएको कल्भर्ट नचर्किएको भन्दै ठेकेदारलाई बचाउने काम भइरहेको स्थानीयहरूले आरोप लगाउन थालेका छन् । यद्यपि सो आरोप सही पनि हो । उक्त वडामा विवाद देखिएका दुवै कल्भर्ट निर्माण गर्ने ठेकेदार कम्पनी एउटै हो । सो ठेकेदार कम्पनीले ४२ प्रतिशत बिलोमा ठेक्का आफ्नो पक्षमा पारेको थियो । स्टिमेट रकम भन्दा ४२ प्रतिशत बिलोमा काम गर्ने गरी हालिएको ठेक्काले गुणस्तरयुक्त काम होला भन्ने कुरा पत्याउन सकिँदैन ।
उक्त वडामा हाल संघीय सरकार र नगरपालिकाको पचास पचास प्रतिशत लगानीमा बास्कोटा, खैराना हुँदै वसन्तपुर जोड्ने करिब ७ किलोमिटर सडक कालोपत्रे र ४ वटा कल्भर्ट निर्माण हुँदैछन । जसको निर्माणका लागि जगदम्बा, मालिका, स्वामी केदारनाथ जेभी सँग ६ करोड ४५ लाखमा ठेक्का सम्झौता गरिएको छ ।
सडक निर्माणको लागि ११ करोडको स्टमेट तयार गरिएको भए पनि तिन वटै कम्पनीले संयुक्त रूपमा करिब ४२ प्रतिशत बिलोमा ठेक्का सम्झौता गरेका छन् । ठेक्का हत्याउनका लागि एकदमै कममा ठेक्का सम्झौता गर्ने ठेकेदारहरूले नाफा आर्जन गर्नका लागि कमसल सामग्रीहरू प्रयोग गर्ने गर्दछन् । जसले गर्दा विकास निर्माणका कार्यहरू गुणस्तर हीन हुने गर्दछन् भने राज्यलाई आर्थिक नोक्सान पनि हुने गर्दछ ।
राज्यको आर्थिक भार कम गर्ने मुख्य जिम्मेवारी जनप्रतिनिधिहरूको हो । त्यसैले स्थानीय सरकारले ठेकेदारको पक्षपोषण गर्ने नभई स्थानीयहरूको माग र आवाजलाई सम्बोधन गर्नुपर्दछ । राज्यलाई नोक्सान हुने कुनै पनि कार्यहरूमा संलग्न नभई त्यस्ता कार्य गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने काममा स्थानीय सरकारले पहलकदमी गर्नुपर्दछ । गोदावरी क्षेत्रमा हालसम्मकै बन्न लागेको लामो सडकका रूपमा पनि लिइएको छ । तर सोही सडकमा गुणस्तरहीन काम हुँदा त्यसको प्रभाव भविष्यसम्म पर्न जान्छ । तसर्थ सरोकारवाला निकायले यस्तो विषयमा विशेष ध्यान दिनुपर्दछ ।