पछिल्लो समय सडकको दुरुपयोग बढ्ने गरेको छ । सडकमा निर्माण सामग्री राख्ने, बिस्कुनहरू सुकाउने, गाई गोरु बाँध्ने लगायतका कामहरू यहाँ हुने गरेका छन् । सडकको प्रयोग सवारी साधन आवत जावतका लागी गर्नुपर्दछ । सवारी साधनहरूले मानिसलाई आवश्यक परेको समयमा सेवा दिने हुँदा सवारी साधनको आवागमनका लागी सडक निर्माण गरिन्छ । सडकले मानिसहरूलाई आवत जावतमा सहजता प्रदान गर्नु मात्रै नभई मानिसले उत्पादन गरेका वस्तुहरूलाई बजारसम्म पु¥याउन समेत सजिलो बनाउँदछ ।
पहाडका दुर्गम क्षेत्रमा सडक सञ्जाल नपुगेकै कारण कतिपय उत्पादित वस्तुहरूले बजार नपाई रहेको अवस्था छ । विकास निर्माणको एउटा अहम् कडीका रूपमा सडक लिइन्छ । तर विकासको अहम् हिस्साका रूपमा रहेको सडकको पछिल्लो समय दुरुपयोग गरिन थालिएको छ । यातायातका साधनहरूको आवतजावतका लागी लाखौँ रकम खर्च गरेर निर्माण गरिएका सडकको दुरुपयोग गर्दै केही मानिसहरूले सडकमा खाद्यान्न सुकाउने, पशु चौपाया बाँध्ने, घाँस सुकाउने लगायतका कार्यहरू गर्न थालेका छन् ।

सडकमै पशु चौपाया बाँध्ने, घाँस तथा खाद्यान्न सुकाउने लगायतका कार्यले सडकको उपयोगिता घट्दै गएको छ । पहाडी क्षेत्रका मुख्य राजमार्गमै त्यस्तो कार्यहरू गरेको भेटिन्छन् भने शाखा सडकहरूमा त सबै ठाउँमा सोही कार्य भइरहेको हुन्छ । पछिल्लो समय त तराई क्षेत्रमा पनि सडकमा त्यस्ता गतिविधिहरू हुने गरेका छन् ।

सुदूरपश्चिमको मुख्य केन्द्रबिन्दुका रूपमा चिनिने अत्तरिया बजारमा रहेका शाखा सडकहरूमा बढी जसो निर्माण सामग्रीहरू राख्ने गरिएको छ । ठेकेदार कम्पनी या कुनै व्यक्ति विशेषले आफ्नो स्वार्थका लागि सडकको दुरुपयोग गरिरहेका छन् । तर त्यस्तो विषयमा स्थानीय सरकार बोल्न सकेको छैन । मुख्य तथा शाखा सडकहरूमा राखिने त्यस्ता सामग्रीहरूले सडकको उपयोगिता घट्नुका साथै दुर्घटनाको जोखिम पनि निम्त्याउने गरेको छ । कुनै व्यक्ति विशेषको स्वार्थका लागि हुने त्यस्ता कार्यहरूको रोकथाममा सरोकारवाला निकायले ध्यान दिन सकेको छैन ।
त्यति मात्रै नभई विकाससँग जोडिएको सडक सञ्जालको दुरुपयोग गर्दै त्यसलाई गलत कामका लागी प्रयोग गर्दा त्यसले अन्य विकासका कार्यहरूको निर्माणलाई पनि रोक्न सक्दछ । सडकले मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा पुग्न, दुःखी बिरामी पर्दा एम्बुलेन्स बोलाई लैजान तथा अन्य विभिन्न कार्यका लागी सहयोगी भूमिका निर्वाह गरेको हुन्छ । त्यस्तो अवस्थामा सडकमा खाद्यान्न सुकाइँदा वा पशु चौपाया बाँधिँदा यातायातका साधनहरूको आवागमनमा अवरोध सृजना हुने गर्दछ । जसले गर्दा अति आवश्यक परेको अवस्थामा मानिसलाई त्यसले धेरै ठुलो समस्या उत्पन्न गर्न सक्दछ ।
सडक कालोपत्रे गरिनुको कारण यातायातलाई सहज रूपमा सञ्चालन गर्नलाई हो, घाँस सुकाउनलाई होइन, खाद्यान्न सुकाउनलाई होइन । त्यसैले सडकको सही सदुपयोग गरौँ । सडककै कारण जमिनको मूल्य आकासिएको छ । सरकारी मापदण्ड अनुसार पनि जमिनको कारोबारका लागी सडक अनिवार्य छ ।
पहाडी क्षेत्रमा कतिपय स्थानमा सडक सञ्जाल नपुगेर दुःख पाइरहेका नागरिकको समस्या विभिन्न सञ्चारमाध्यमहरू मार्फत देखिँदै र सुनिँदै आएका छन् । सडक सञ्जाल पुगिसकेका स्थानमा भने नागरिक सडकमा खाद्यान्न सुकाउँछन्, घाँस सुकाउँछन् । त्यति मात्रै नभएर बिच सडकमै पशु चौपाया समेत बाध्छन । जीवनको महत्त्वपूर्ण अङ्ग जस्तै बनिसकेको सडकको दुरुपयोग नगरी सडकको वास्तविक महत्त्व बुझेर त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न आवश्यक छ ।

















