खाेज्नुहाेस

सुदूरपश्चिमका नेता किन मौन ?

Image

देशभरका ६ प्रदेशमा सरकारी चिकित्सा शिक्षा अध्यापन गर्ने मेडिकल कलेज, प्रतिष्ठान सञ्चालन हुँदा पनि सुदूरपश्चिम अझै त्यसमा समेटिन सकेको छैन । सरकारी तवरबाट यसअघि वाग्मती, कर्णाली र कोसी प्रदेशमा चिकित्सा शिक्षा अध्यापन हुँदै आएकोमा यसै वर्ष गण्डकी, लुम्बिनी र मधेस प्रदेश पनि चिकित्सा शिक्षा पठनपाठन गर्ने गरी कोटा नै निर्धारण गरिसकिएको छ ।

सरकारले नै बनाएको चिकित्सा शिक्षा ऐनमा २०८० भित्र प्रत्येक प्रदेशमा कम्तीमा एउटा सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने व्यवस्था छ । तर यो ऐनले ६ प्रदेशलाई छोए पनि सुदूरपश्चिम अझै यसमा अटाउन सकेको छैन ।

attariya hospital

गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषण गरिएको भए पनि त्यसलाई सञ्चालनमा ल्याउन सरकारले तदारुकता नदेखाउँदा अहिले सम्म पनि यहाँ कहिले देखि चिकित्सा शिक्षा अध्यापन हुने टुङ्गो छैन । केन्द्रीय राज्यसत्तामा सुदूरपश्चिमको बिँडो सम्हालेका नेताले यसको सञ्चालनमा ध्यान नदिँदा भौतिक संरचना निर्माण भएर पनि यो ओझेलमा छ ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा अध्यापन गराउने उद्देश्यले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने घोषणा गरिए पनि त्यसको विधेयक प्रक्रियामै ढिलाइ भइरहेको छ । उक्त विधेयक हाल प्रतिनिधि सभामा विचाराधीन अवस्थामा रहेको छ ।

गेटामा ६ सय शय्याको अस्पताल र चिकित्सा शिक्षा पठनपाठनका लागि २ वर्षअघि नै भौतिक संरचना निर्माण भएका थिए । तर, केन्द्रको उपेक्षाका कारण अझै पनि यहाँ कुनै पनि काम योजना अनुसार अघि बढ्न सकेका छैनन् । ६ सय शय्याको अस्पताल बनाउने भनिए पनि केन्द्र सरकारले अहिले ५० शय्याको अस्पताल मात्रै चलाई रहेको छ । २०८० असारमा स्वीकृत पाएको गेटा अस्पतालमा अहिले न्यूनतम सुविधामा मात्रै सञ्चालन भइरहेका छन् । तत्कालीन अस्पताल प्रशासनले मेडिकल कलेज सञ्चालनको लागि आवश्यक पर्ने ३ सय शय्याको अस्पताल सञ्चालनको अनुमति मागे पनि सरकारले भने ५० शय्याको अस्पताल मात्रै सञ्चालनको स्वीकृति दिएको थियो ।

चिकित्सा शिक्षा अध्यापनका लागि कम्तीमा ३ सय शय्याको अस्पताल सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था छ । तर, यी सबै कुराका बाबजुद पनि केन्द्र सरकारले यहाँ न सो अनुसारको अस्पताल सञ्चालनमा चासो दिएको छ न, विश्वविद्यालय सञ्चालनको लागि विधेयक सांसदबाट पास गर्ने तदारुकता देखाएको छ ।

तर, पनि यस क्षेत्रबाट केन्द्रीय राजनीतिमा नेतृत्व गर्ने नेताहरू भने मौन बसेका छन् । जसले गर्दा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताहरू किन मौन बसेको भनेर जनताले प्रश्न उठाइरहेका छन् । त्यसले सधैँ ओझेलमा परेको सुदूरपश्चिम माथि राज्यको ध्यान आकर्षित गराउन यस क्षेत्रका नेताहरूले जोडदार आवाज उठाउन जरुरी छन् । नत्र सुदूरपश्चिम सधैँ पछाडि परिनै रहनेछ ।