सोमबार राती कैलालीको अत्तरियामा रहेका २ वटा सहकारीमा चोरी भयो । साना किसान कृषि सहकारी संस्था मालाखेती र मानाङ्क बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको थियो । दुवै सहकारीमा चोरले तोडफोड गरेर क्यामेराको डिभाइस लगायतका सामान चोरी गरेको छ । डेढ वर्ष अघि चोरी भएको साना किसान कृषि सहकारी संस्था मालाखेतीमा सोमबारको चोरी एउटै प्रकृतिको थियो । त्यति बेलामा चोरले उक्त सहकारीबाट करिब ५ लाख को हाराहारीमा नगद चोरी गरेको थियो । यस पटक नगद चोरी गर्न नपाए पनि संस्थाका केही महत्त्वपूर्ण सामग्रीहरू भने चोरी भएका छन् ।
यसअघि पनि पटक पटक अत्तरिया क्षेत्रका पसलहरूमा चोरीका घटनाहरू घट्दै गइरहेका थिए । त्यति बेला पसलमा चोरीका घटनाहरूमा संलग्नलाई प्रहरीले पक्राउ गरेपछि पसलमा हुने चोरी कम भए पनि सहकारी चोर भने आजसम्म खुल्ला रूपमा हिँडिरहेका छन् । चोरी भएका घटनाका विषयमा प्रहरीले अनुसन्धान थालिरहेको भए पनि चोर पत्ता लाग्न सकेको छैन ।
अत्तरिया बजार धनगढी, महेन्द्रनगर लगायतका बजारको तुलनामा सानो बजार हो । बजारको क्षेत्र सानो हुनुका साथै नजिकै इलाका प्रहरी कार्यालय, प्रदेश ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरीको गण र नेपाली सेनाको ब्यारेक छन् । तर यती सानो बजार नजिकै रहेका सुरक्षा निकायका कार्यालयहरूका बिचमा पनि बजारमा एकैप्रकृतिका चोरीहरू दिनानुदिन भइरहेका छन् । जसले यहाँको सुरक्षा व्यवस्थालाई चुनौती दिएको छ ।
एकै प्रकृतिको चोरीको घटना दोहोरिँदा प्रहरीको कार्यशैली प्रति प्रश्न उठाउने बेला आएको छ । डेढ वर्ष अघि भएको चोरीको घटनाको सूक्ष्म तरिकाले छानबिन भएको भए या भनौँ त्यति बेलै चोरलाई पक्राउ गर्न सकिएको भए, सम्भवता आज पुनः चोरीका घटनाहरू दोहोरिने थिएनन् होला । चारैतिरबाट सुरक्षाका निकायहरू रहँदा पनि ठुला सहकारीहरूमै चोरीका घटनाहरू घट्नु यहाँको सुरक्षा व्यवस्थामाथिको चुनौती हो ।
प्रहरी प्रशासनको लापरबाहीका कारण चोरहरू अहिलेसम्म पक्राउ पर्न नसकेको गुनासो आउन थालेको छ । हुन पनि एकै प्रकृतिका चोरीका घटना हुँदासम्म पनि प्रहरीले चोर समात्न नसक्नु लापरबाही नै हुनसक्छ । चोरीका घटना न्यूनीकरणमा मुख्य रूपमा सुरक्षा निकायले संवेदनशील बन्न जरुरी छ । बजारको अवस्थामा र यसरी हुने चोरीका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्दा प्रहरी प्रतिको आम नागरिकको दृष्टिकोण फरक हुने अवस्था छ ।
यस्तो अवस्थामा बजारको सुरक्षा व्यवस्थालाई चुनौती दिने त्यसता चोरहरूलाई यथाशीघ्र पक्राउ गरी बजारको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने काममा सुरक्षा निकाय जिम्मेवार बन्न आवश्यक छ । एकै प्रकृतिका चोरी गर्ने चोरका गिरोहहरू पक्राउ गरी आम जनमानसमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने कार्यमा प्रहरी प्रशासन अग्रसर बन्न जरुरी छ ।