खाेज्नुहाेस

अनैतिक क्रियाकलापको नियन्त्रणमा ध्यान देऊ

Image

अत्तरियामा पछिल्लो केही समययता अनैतिक क्रियाकलापमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् । स्थानीय र होटल व्यवसायी संघको गुनासोका कारण पछिल्लो केही समययता प्रहरीले अनैतिक क्रियाकलापमा संलग्नहरूलाई पक्राउ गर्ने काम गर्दै आएको छ ।

प्रहरीले पक्राउ गरिरहेको भए पनि अत्तरिया क्षेत्रमा मुख्य चुनौतीका रूपमा रहेको यो समस्या रोक्न भने अझै चुनौती छ । यहाँका केही होटलहरुले यौन धन्दा चलाइरहेकाले प्रहरीलाई यस्ता गतिविधि रोक्न चुनौती देखिएको हो । यस क्षेत्रलाई नै बदनाम हुने गरी भइरहेका यस्ता गतिविधि रोक्न इलाका प्रहरी कार्यालय मालाखतीमा हरेक वर्ष फेरिइरहने डिएसपीहरूले अनैतिक क्रियाकलाप रोक्ने प्रतिबद्धता गर्दै आएका छन् । तर, अत्तरियालाई लागेको अनैतिक क्रियाकलाप हुने अखडाको ट्याग भने अझै मेटिन सकेको छैन ।

attariya hospital
navjiwan hospital

इलाका प्रहरी कार्यालय मालाखेतीमा पछिल्लो ६ महिनायता करिब ५० बढीको हाराहारीमा अनैतिक क्रियाकलापमा संलग्न व्यक्तिहरू पक्राउ परिसकेका छन् । अत्तरिया क्षेत्रबाट गत आर्थिक वर्षमा ५९ जना अनैतिक क्रियाकलापमा संलग्न पक्राउ परेका थिए । जसमध्ये ३७ जना चैत्र १९ यता पक्राउ परेका थिए । प्रहरीले पछिल्लो केही समय यता अनैतिक क्रियाकलापमा संलग्नहरू पक्राउ पर्ने क्रम घट्दै गएको बताए पनि समस्या समाधान भने हुन सकेको छैन ।

अत्तरिया क्षेत्र विगत लामो समय देखि अनैतिक क्रियाकलाप हुने क्षेत्रको रूपमा चिनिँदै आएको छ । यसको नियन्त्रणका लागि केही व्यक्ति पक्राउ परे पनि यसको नियन्त्रण भने हुन सकिरहेको छैन । सुदूरपश्चिमको जक्सनका रूपमा रहेको अत्तरियामा अनैतिक क्रियाकलाप नरोकिँदा यो क्षेत्र बदनाम हुने गरेको छ । यसको नियन्त्रणको लागि जनस्तरबाट पटक पटक आवाज उठ्दै आएको भए पनि यसको नियन्त्रण अझै हुन सकेको छैन ।

यसलाई रोक्न प्रहरीले अझै सक्रियता बढाएर यस्ता गतिविधिका संलग्नलाई कडा कारबाही गर्न आवश्यक छ । प्रहरीले पक्राउ गर्ने तर, केही दिनमा छोडिदिने र पुनः तिनै व्यक्ती अनैतिक क्रियाकलापमा संलग्न हुने भएकाले यसको दिगो समाधानका लागि यस्ता व्यक्तिलाई कारबाही गर्ने र अन्य व्यवसायमा आकर्षित गराउने खालका कार्यक्रम पनि सँगसँगै सञ्चालन गर्न आवश्यक छ ।