खाेज्नुहाेस

प्रकाशकीय : जनताको पहरेदार बन्ने अभिभारामा अडिग हुनेछौ

Image

प्रकाशन सुरु गरेको लगातार चौथो वर्ष सफलता पूर्वक बिताएर आजबाट अत्तरिया खबर दैनिक पाँचौँ वर्षमा प्रवेश गरेको छ । कोरोना महामारीको समयमा पनि जनतालाई सत्य तथ्य सूचना दिन भन्दै २०७७ साल भाद्र १ गते यस दैनिकको स्थापना भएको थियो ।

कोरोना महामारीको समयमा सारा जगत् थला परेको अवस्थामा पनि दैनिक पत्रिका प्रकाशन गरी जनतालाई सत्य तथ्य सूचना प्रवाह गर्ने हाम्रो उद्देश्यले मूर्त रूप लिइरहेको हामीले महसुस गरेका छौ ।

attariya hospital
navjiwan hospital

महामारीको समयमा सारा जगत् धराशायी बनेको थियो । सो अवस्थामा आर्थिक भार धान्न नसकी कतिपय दैनिक पत्रिकाहरू बन्द भैइरहदा जनताहरूको पहरेदार बन्न अत्तरिया खबरले उठाएको चुनौतीको बिटो लगातार पाँच वर्ष सम्म धान्न सकेकोमा हामी गौरवान्वित भएका छौ । प्रकाशन सुरु गरेदेखि आएका विभिन्न आरोह, अवरोह तथा चुनौतीहरूलाई पाखा लगाउन महत्वपूर्ण योगदान पु¥याउनुहुने सम्पूर्ण पाठकवृन्द, विज्ञापनदाता, शुभचिन्तक तथा सहयोगीहरूमा विशेष आभार प्रकट गर्न चाहन्छौ । हालसम्मको अवधिमा भएका कमीकमजोरीहरूलाई सुधार्दै आगामी दिनमा अझै सशक्त रूपमा अगाडि बढ्न प्रण गर्दछौ । साथै प्राविधिक रूपमा यदि कतै कहीँ यो मिडिया मार्फत उठान गर्नुपर्ने विषयले स्थान नपाएको भए आगामी दिनहरूमा पक्कै पनि त्यसको स्थान अग्रपंतीमा हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छौ ।

समय बलवान छ, विकासोन्मुख हाम्रो मुलुकमा विभिन्न प्रविधिहरू भित्रिने क्रम जारी छ भने छापा माध्यम बिस्तारै कम भइरहेको अवस्था छ । डिजिटल माध्यमको प्रयोग बढी रहेका अवस्थामा पनि अत्तरिया खबर दैनिकलाई माया गर्नुहुने हाम्रा विज्ञापनदाता तथा पाठकवृद्धहरुप्रति हामी कृतज्ञता अर्पण गर्दछौ । साथै उहाँहरूलाई डिजिटल माध्यमबाट पनि सेवा दिनुपर्छ भन्ने उद्देश्यले अत्तरिया खबर दैनिक पाँचौँ वर्षमा प्रवेश गर्दै गर्दा हामी भिडियोको माध्यमबाट पनि अत्तरिया अनलाइन टिभी मार्फत समाचार, बहस तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आइरहेका छौ ।

हालसम्म कसैको डर र धम्कीमा नपरी निष्पक्ष रूपमा प्रवाहित भइरहेका हाम्रा कलमहरू आगामी दिनहरूमा पनि चलिरहनेछन् । हामी प्रकाशनको प्रारम्भदेखि आधारभूत जीवन पनि जिउन नसकेका आम जनताको समृद्धिको पक्षमा निरन्तर उभिने छौँ । सत्ता र शक्तिमा रहेकामाथि निरन्तर प्रश्न उठाउने र जनताको तर्फबाट वकालत गर्ने काममा हामी निरन्तर कलम चलाउने छौ । जनताको आकांक्षा र अपेक्षा विपरीत भाग्ने राजनीतिक दलमाथि हाम्रो सदाझैँ खबरदारी रहनेछ ।

र, अन्तमा फेरि पनि सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता प्रति स्नेह, सद्भाव, सहयोग र विश्वासको अपेक्षा गर्दछौँ । सत्य, तथ्य र निष्पक्ष समाचारको दौडमा जुटेका हामीलाई छोटो समयमा जुन माया र सहयोग प्राप्त भइरहेको छ फेरि पनि थप मायासँगै उचित सल्लाह तथा सुझावको पनि अपेक्षा गरेका छौ । पत्रिकाको भिडमा हामी छुट्टै पहिचान बनाउँदै उत्तरदायी, जिम्मेवार र तथ्यपरक पत्रकारिताका लागि पुनः पनि प्रतिबद्धता जनाउँदछौँ । पत्रिकाको नारा ‘सत्य र निष्पक्ष खबरको संवाहक’ लाई मूर्त रूप दिन हामी निरन्तर लागिरहनेछौ । नागरिकका समस्याहरूको समाधान गर्न तथा सम्बन्धित पक्षलाई झकझक्याउन कुनै पनि सन्देह नमानी अहोरात्र रूपमा खटिने प्रण गर्दै आगामी दिनहरूमा आदरणीय पाठकबृन्द, शुभचिन्तक एवम् विज्ञापनदाताहरूको सल्लाहलाई पनि मनन गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौ । धन्यवाद ।।