खाेज्नुहाेस

सरकार जनताप्रति उत्तरदायी बनोस्

Image

सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा कमल शाह नियुक्त भएका छन् । प्रदेशसभाको पहिलो कार्यकाल नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले पुरै अवधि सम्हालेका थिए । तर दोस्रो प्रदेशसभाको २ वर्ष पुरा नहुँदै तेस्रो पटक मुख्यमन्त्री फेरिएर शाह मुख्यमन्त्री बनेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीका रूपमा नेकपा एमालेका तर्फबाट मान बहादुर रावल नियुक्त भएका थिए । तर, केन्द्रमा राजनीतिक समीकरण फेरिए सँगै विश्वासको मत पाउन नसकेपछि ठुलो दलको संसदीय दलको नेताको हैसियतले नेपाली कांग्रेसका कमल शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

navjiwan hospital

उनले आफ्नो कार्यकाल १४ महिना लम्ब्याएका भए पनि पुनः केन्द्रमा राजनीतिक समीकरण फेरिए सँगै ढलेको थियो । केन्द्रमा नेकपा माओवादी र नेकपा एमालेको नयाँ समीकरण बनेसँगै विश्वासको मत पाउन सक्ने अवस्था नरहेपछि उनले राजीनामा दिएका थिए । त्यसपश्चात् नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्रीमा नियुक्त भए । तर उनले पनि करिब ३ महिनामै राजीनामा दिनुप-यो । प्रदेशमा कुनै पनि दलसँग बहुमत नहुँदा केन्द्रमा भइरहेको राजनीतिक समीकरण परिवर्तन सँगै प्रदेशमा पनि पर्ने गरेको छ । कुल ५३ सांसद रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसका १८ सांसद रहेका छन् भने सभामुख र उपसभामुख सहित नेकपा एमालेका ११ र नेकपा माओवादी केन्द्रका ११ सांसद रहेका छन् । यस्तै नागरिक उन्मुक्तिका ७ तथा नेकपा एकीकृत समाजवादीका ४ सांसद रहँदा एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद छन् ।

attariya hospital

दोस्रो प्रदेशसभाको दुई वर्षे कार्यकाल पुरा नहुँदै अहिले सम्म ४ पटक मुख्यमन्त्री फेरिने बाहेक कुनै सम्झिन लायक काम देखिएको छैन । राजनीतिक खिचातानीमै अल्झेको प्रदेश सरकारले विकास निर्माणका कार्यमा ध्यान दिन सकेको छैन । मन्त्री, मुख्यमन्त्री बन्ने दाउपेच, खिचातानीमा केन्द्रका नेताहरुसँग लबिङ गर्नमै सबै सांसदहरू व्यस्त हुँदा विकास निर्माणका कार्यहरूले गति पाउने कुरै भएन ।

दुई वर्षे कार्यकाल जे जस्ता बितेका भए पनि अहिले भने ठुला दल नै मिलेर सरकार बनाएकाले राजनीतिक दाउपेच, खिचातानीमा भन्दा पनि जनताका काममा केन्द्रित हुन आवश्यक छ । उसै पनि बेला बेलामा प्रदेश सरकारको काम छैन भन्ने आवाज उठिरहने भएकाले अब भने प्रदेश सरकारले जनताप्रति उत्तरदायी भएर जनतालाई अनुभूति हुने गरी काम गर्न आवश्यक छ । अबको सरकारले नागरिकको प्रदेश सरकारप्रतिको मनोभाव बदल्न सक्नुपर्दछ । नागरिकका आशा र अपेक्षाको पूर्णताका लागि प्रदेश सरकारले पहलकदमी थाल्नुपर्दछ ।