दिनानुदिन छाडा चौपायाको संख्या बढीरहदा यसले सबैलाई समस्यामा पारेको छ । बजार क्षेत्रमा छोडिएका छाडा चौपायाका कारण सवारी साधन संचालनमा समस्या हुने गरेको छ भने सडक दुर्घटना भैरहेका छन । करिब एक दशकदेखी सुदूरपश्चिममा विकराल बनेको यो समस्याको सही रुपमा व्यवस्थापन नहुँदा समाधान हुन सकेको छैन ।
किसानले छाडेका गाई गोरुको वासस्थान अहिले सडक बनेको छ । मुख्य राजमार्गहरूलाई वासस्थान बनाएका यस्ता गाई गोरु कति दुर्घटनामा त कति रोग लागेर उपचार नपाई मर्ने गरेका छन् भने कति सडक दुर्घटनामै मर्छन । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार प्रदेशमा ३ वर्षको अवधिमा ६० गाई गोरुको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सडक दुर्घटनामा परेर मात्रै प्रदेशमा १३ गाई गोरु (छाडा चौपाया) को मृत्यु भएको छ । सो अवधिमा १४ गाई गोरु घाइते भएका छन् । सडक दुर्घटना बाहेक अन्य कारणले मरेका गाई गोरुको संख्या भयावह भए पनि यकिन तथ्याङ्क कुनै निकाय सँग छैन ।

सरकारी तवरबाट छाडा चौपाया नियन्त्रणका विभिन्न असफल प्रयासहरु भएका छन । गौशाला निर्माण गर्ने र छाडा चौपायाहरुलाई एक ठाउँमा जम्मा गरेर राख्ने लगायतका योजनाहरु बनाएर त्यसैमा केन्द्रित हुँदा सरकारका प्रयासहरु असफल बन्न पुगेका हुन । वर्षेनी छाडा चौपायाको व्यवस्थापनका लागि भनेर छुट्याईने बजेट केही व्यक्तिहरुको दैनिकि गुजार्ने मेसो बाहेक अन्य केही बन्न सकेन ।

सरकारले दिगो रुपमा सोचेर र वृहत योजनाहरु बनाएर व्यवस्थापन गर्न नसक्दा यो समस्याले बढी विकराल रुप लिएको देखिन्छ । छाडा चौपायाको मारमा सबैभन्दा बढी किसानहरु परेका छन । जसले आफ्नो बारीबाट कृषिजन्य वस्तुहरु उत्पादन गर्न सकिरहेको छैन । किसानहरुले बारीमा लगाएको बाली छाडा चौपायाहरुले बारिमै सखाप पार्न थाले ।
जसका कारण किसानहरुले दिनरात जागराम बस्नुपर्ने अवस्था आएको छ । प्रदेश एवम् स्थानिय सरकारले छुट्याएको बजेटको सही सदुपयोग हुन नसक्दा छाडा चौपाया व्यवस्थापन र नियन्त्रणका लागी विनियोजीत गरिएको हालसम्मको बजेट बालुवामा पानी मिसाए सरह भएको छ । त्यसकारण पनि जनमानसमा सरकार प्रतिको नैराश्यता बढ्दै गएको छ ।
छाडा चौपायाको व्यवस्थापन र नियन्त्रण गर्ने कार्यका लागी सरकारसँग बजेट माग गर्ने तर व्यवस्थापनको पाटोलाई ध्यानमा नराख्ने हाम्रा संघसंस्थाहरुका कारण सम्पुर्ण नगरबासीहरुले सास्ती खेप्नुपरेको छ । तर विगतका कुरालाई कोट्याएर वर्तमानमा पनि त्यही प्रवृत्तिलाई दोहो¥याउनुभन्दा समस्या समाधानको विकल्प खोज्नतिर सरकारले ध्यान दिनुपर्दछ ।
छाडा चौपायाहरुको व्यवस्थापनका लागि दिगो योजना बनाएर अगाडी बढ्न आवश्यक छ । स्थानिय तहको सुरुवाती सरकारले छाडा चौपाया नियन्त्रणको लागी ठोस योजना बनाएर अगाडी बढ्न सकेनन् । फलस्वरुप उक्त समस्या अहिलेका प्रतिनिधिहरुको टाउकोमा थुपारिएको छ । गौशाला बनाउने र बजेट पचाउने मेसोभन्दा बाहिर निस्केर केही उपलब्धीमुलक योजना बनाउन सके मात्रै छाडा चौपायाहरुको नियन्त्रण गर्न सकिनेछ । त्यसका लागि सरकारले छाडा चौपायाको नियन्त्रणका उपायहरुका बारेमा रायसुझाव लिएर दिगो समयसम्मको योजनाहरु तयार पार्नुपर्दछ ।















