बसपार्कमा शुल्क उठाउने मापदण्ड स्पष्ट पार

पूर्वपश्चिम दुवै क्षेत्रलाई जोड्ने कैलालीको अत्तरियास्थित बसपार्कबाट सुदूरपश्चिमका पहाडी ७ जिल्लामा मात्रै नभई पूर्वतिर पनि सवारी साधनहरू जाने गर्दछन् । दिनहुँ पूर्वतिरबाट आउने र यताबाट जाने सवारी साधनहरूले बसपार्कमा घुँईचो हुन्छ । प्रदेशको राजधानी घोषणा गरिएको गोदावरी नगरपालिकामा अवस्थित उक्त बसपार्कमा दैनिक सयौँको संख्यामा सवारी साधनहरूको आवतजावत हुने गर्दछ भने हजारौँको संख्यामा यात्रुहरू यात्रा गर्दछन् ।

Karma Consultancy

उक्त बसपार्कमा प्रवेश गर्ने सवारी साधनहरूबाट दैनिक पार्किङ शुल्क उठाइँदै आएको छ । बसपार्कमा सवारी साधनको पार्किङ बापत शुल्क उठाउन नगरपालिकाले प्रत्येक वर्ष ठेक्का आह्वान गर्ने गरेको छ । चालु आर्थिक वर्षका लागि पनि ठेकेदार कम्पनी सँग नगरपालिकाले शुल्क उठाउने सम्झौता गरिसकेको छ । हाल बसपार्कमा आउने सवारी साधनहरूबाट पार्किङ शुल्क उठाउने काम जय भवानी कन्स्ट्रक्सन प्रालि घोडाघोडीले गरिरहेको छ ।

citizen security services
belauri nagarpalika

उक्त कम्पनीलाई नगरपालिकाले १ करोड २६ लाख १५ हजार ९३४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । नगरपालिकाले निश्चित मापदण्ड बनाएर ठेक्का आह्वान गरेको हो । सम्झौता अनुसार लामो दुरीका सवारी साधनबाट भ्याट सहित १५० र छोटो दुरीका सवारीसाधनबाट भ्याट सहित ८० रुपैयाँ पार्किङ शुल्क उठाउन पाउने नगरपालिकाले मापदण्ड तोकेको छ । सोही अनुसार नै ठेकेदार कम्पनीले शुल्क उठाउनुपर्ने हुन्छ ।

attariya hospital

तर ठेकेदार कम्पनीले आफ्नै मापदण्ड बनाएर शुल्क उठाउन लागेको आरोप लागिरहेको छ । सवारी धनी एवम् चालकहरुले चालु आर्थिक वर्षमा पार्किङ शुल्क उठाउने जिम्मा पाएको ठेकेदारले विगतको भन्दा बढी शुल्क असुलिरहेको आरोप लगाइरहेका छन् । चालु आर्थिक वर्षमा फेरिएका ठेकेदारले यसअघिका ठेकेदारले लिँदै आएको शुल्कभन्दा फरक मापदण्ड बनाएर बढी शुल्क लिएको गुनासो गर्न थालेका हुन । उनीहरूले १ सय किलोमिटर भन्दा कम दुरीलाई छोटो दुरी मापन गरिएकाले यसअघि आफूहरूले ८० रुपैयाँ मात्रै तिर्दै आएको भए पनि हाल १५० लिन थालिएको जनाएका छन् ।

नगरपालिकाले उक्त विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यसरी खुलेआम आइरहेको जनगुनासोलाई नगरपालिकाले पनि सम्बोधन गर्नुपर्दछ । पार्किङ शुल्क उठाउनका लागि बनाइएको निश्चित मापदण्ड के हो भन्ने विषयमा सरोकारवाला सबै निकायहरूलाई स्पष्ट पार्न जरुरी छ । सवारी चालक र सवारी धनीहरूलाई कुन मापदण्डमा पार्किङ शुल्क काट्ने भन्ने विषयमा स्पष्ट पार्न आवश्यक छ । मापदण्ड अनुसार पार्किङ शुल्कको रकम बढेको हो भने कुन कारणले बढ्यो भन्ने विषय पनि जानकारी गराइनुपर्दछ ।

त्यति मात्रै नभई नगरपालिकाले बसपार्कको व्यवस्थापन र निर्माणमा ध्यान दिनुपर्दछ । बसपार्कबाट पार्किङ शुल्कबापत नै करोड बढी ठेक्का आह्वान गर्ने नगरपालिकाले बसपार्कको व्यवस्थापनमा भने खासै चासो दिएको देखिँदैन । बसपार्क बर्सातमा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे हुने गर्दछ । प्रत्येक वर्ष बसपार्कबाट उठ्ने रकम बसपार्कमा मात्रै पनि खर्च गर्न सके धेरै हदसम्म यसको व्यवस्थापन गर्न सकिन्छ । त्यसैले बसपार्कको व्यवस्थापनको विषयमा पनि नगरपालिकाले चासो राख्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.