सुदूर पहाडका मुख्य राजमार्गमा भीमदत्त, केआइसिंह, दशरथचन्द, महाकाली, जयपृथ्वी राजमार्गहरू पर्दछन् । यी राजमार्गहरूले नै सुदूरपश्चिमका ९ वटा जिल्लाहरूलाई एक आपसमा जोडेका छन् । वर्षौ पहिले बनेका पहाडी राजमार्गमा विगतको तुलनामा अहिले सवारी साधनहरूको चाप अत्यन्तै बढेको छ । जसका कारण तत्कालीन अवस्थामा बनाइएका राजमार्गहरू साँघुरा र कमजोर बनेका छन् ।
साँघुरा राजमार्गमा जताततै खाल्डाखुल्डीले गर्दा यात्रा जोखिमपूर्ण हुने गरेको छ । तर पनि सुदूरपश्चिमेलीहरु जोखिमपूर्ण यात्रा गर्न विवश बनेका छन् । सडकमा जताततै खाल्डाखुल्डी छन् । केही ठाउँमा सडक भत्केका पनि छन् । साँघुरा सडकमा खाल्डाखुल्डी हुँदा सवारी साधनहरू सञ्चालनमा पनि समस्या हुने गरेको छ ।


सरकारले बर्सातको समयमा आउने पहिरो पन्छाउने तथा सामान्य टुटे फुटेका सडकको मर्मत त गर्ने गरेको छ तर साँघुरा सडकलाई चौडा बनाउने योजना भने छैन । ती मर्मत गरिएका स्थानहरूमा पनि २ दिनमै पुनः खाल्डाखुल्डी हुने गरेका छन् । बर्सातको समयमा यात्रा गर्न झन् जोखिमपूर्ण हुने गरेको छ । साँघुरो र एकदमै दयनीय बनेको सडकका कारण यहाँ दैनिक जसो दुर्घटनाहरू पनि भइरहेका हुन्छन् ।
विगतको तुलनामा सवारी साधनहरूको चाप बढेको भए पनि राजमार्गहरूको स्तरोन्नति गर्ने काम अझै सम्म हुन सकेको छैन । उल्टो मर्मत सम्भार गरिने स्थानमा पनि कमसल काम हुने गरेको छ । जसका कारण सरकारको बजेटको चरम दुरुपयोग भइरहेको छ । गत असारमा पनि भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको अत्तरिया बजार देखी माथि बुढितोला सम्म मर्मत सम्भारको कार्य गरिएको थियो । तर उक्त कार्य गरिएको हप्ता दिन नबित्दै पुनः सोही स्थानहरूमा खाल्डाखुल्डी बनिसकेका छन् ।
असार मसान्तभित्र काम सक्ने गरी असार मध्यतिरबाट सुरु गरिएको कार्य प्रभावकारी र गुणस्तरीय हुने कुरै थिएन । जसका कारण मर्मत गरिएको एक हप्ता भित्रै पुरिएका खाल्डाहरू विगतका भन्दा अझै ठुला बनेका छन् । यसरी मापदण्ड विपरीत गुणस्तरहीन काम हुँदा सर्वसाधारणले दुख भोग्नु परिरहेको छ । राजमार्गहरू यात्रा गर्न सुरक्षित किसिमका हुनुपर्दछ ।
यात्रुहरूले यात्रा गर्दा राजमार्गकै कारण कुनै किसिमको कठिनाइ भोग्न नपरोस् भन्ने तिर ध्यान दिइनुको सट्टा उल्टै कमसल काम गरिनु खेदपूर्ण छ । यस्ता कार्यहरू आगामी दिनमा दोहोरिनु हुँदैन । जनताको सुविधाका लागि राजमार्गहरूको गुणस्तरीय मर्मतमा ध्यान दिइनुपर्दछ । यस्तो विषयमा सरोकारवाला निकायले विचार पु¥याउन जरुरी छ ।


















