अछाम – वर्षाका कारण प्राकृतिक प्रकोपका घटनाहरु हुन सक्ने भन्दै अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले सचेत रहन आग्रह गरेका छन । शनिबार अपिल जारी गर्दै अध्यक्ष साउँदले केही दिन यता निरन्तर वर्षा भैरहेको र त्यसबाट प्राकृतिक प्रकोपका विभिन्न घटनाहरु घट्न सक्ने भन्दै सचेत रहन गाउँपालिकाबासीमा आग्रह गरेका हुन ।

उक्त अपिलमा विगत ४ दिनदेखी अविरल परिरहेको वर्षाका कारण मानविय जनजिवन कष्टकर बन्दै गईरहेको उल्लेख गरिएको छ । ‘वर्षाका कारण गाउँपालिकाका विभिन्न स्थानहरुमा भूक्षय, बाढीपहिरो वा डुबान भई ठुलो धनजनको क्षति हुन सक्छ’ अध्यक्ष साउँदद्धारा जारी अपिलमा भनिएको छ ‘यस्तो अवस्थामा सबै गाउँपालिकाबासीहरुमा उच्च सर्तकता अपनाई सचेत रहन अनुरोध छ ।’

उक्त अपिलमा पालिकाभित्र कुनै पनि दैविक प्रकोप वा अप्रिय घटना घट्न गएमा पालिकाको विपद जोखिम न्यूनिकरण समितिमा रहेका पदाधिकारीहरुका नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । त्यस्तै दैविकप्रकोप उद्दार सामग्रीहरु तयारी अवस्था रहेकाले सबै पालिकाबासीहरुले कुनै घट्ना घट्ने वित्तिकै जानकारी दिन पनि अपिलमा भनिएको छ ।
उक्त अपिलमा पालिकाबासीहरुको सहजताका लागि अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्टोर शाखा, एम्बुलेन्स चालक, जेसिबि अपरेटर, ट्याक्टर ड्राईभर, प्रहरी चौकि सिउडी र प्रहरी चौकी चौखुट्टेको सम्पर्क नम्बर पनि राखिएको छ ।


















