पछिल्लो समय लागुऔषधको विक्रिवितरण र प्रयोगको अत्याधिक रुपमा बढेको छ । विभिन्न कारणले लागुऔषधमा युवापुस्ताहरुको संलग्नता देखिँदा यसको विक्रिवितरण र प्रयोगको मात्रालाई कम गर्न सकिएको अवस्था छैन । लागूऔषध सेवन स्वास्थ्यका लागि हानिकारक र कानूनी रूपमा वर्जित छ । तर, पनि बालबालिका र युवापुस्ता लागूऔषधको दुव्र्यसनमा फस्ने समस्या भने झन झन बढीरहेको छ ।
सरकारी संयन्त्र र गैरसरकारी संस्थाहरू न्यूनीकरणका लागि लामो समयदेखि लाग्दासमेत समस्या बढ्दै जानुले बालबालिका र युवापुस्तालाई कसरी जोगाउने भन्ने चुनौती थपिएको छ । अरुको लहलहमा लाग्न सक्ने बालबालिका लागू औषधको बढी जोखिममा रहेका छन । पछिल्लो समय बालबालिकालाई लागूऔषधको दुव्यसनीमा फस्नबाट जोगाउन प्रहरी र विभिन्न संघ सस्थाले संक्रियता बढाएका छन । तर, यसबाट अपेक्षित उपलब्धी भने हासिल हुन सकिरहेको छैन ।

बालबालिका गलत संगलतमा लाग्दा लागू औषधको दुव्र्यसनमा फस्ने गरेका छन । नराम्रो व्यक्तिसँगको संगतका कारण पछिल्लो समयमा बालबालिकादेखी युवासम्मले लागुऔषधको प्रयोग गर्दै आएका छन । त्यसबाहेक सुदूरपश्चिममा खुल्ला सिमानाका हुनु र अभिभावकहरुले बालबालिकाप्रति ध्यान नदिनु पनि अरु कारण रहेका छन । छिमेकी मुलुक भारत लगायतका देशहरुसँग नेपालको खुल्ला सिमानाका छ ।

जसका कारण लागुऔषधको कारोबार गर्ने मुख्य नाईकेहरुले वारीपट्टि लागुऔषधको विक्रिवितरण गरिरहेका हुन्छन । त्यस्ता कारोबारीहरुलाई भने प्रहरीले हालसम्म पक्राउ गर्न सकेको अवस्था छैन । प्रहरीले नियमितको जनचेतनामुलक कार्यक्रमहरु गर्ने तथा विद्यालयस्तरमा गएर बालबालिकाहरुलाई लागुऔषधको प्रयोगका नराम्रा पक्षहरुका बारेमा जानकारी गराईरहेको छ । तर प्रभावकारीता भने हालसम्म देखिएको छैन । जसको मुख्य कारण हो अभिभावकले बालबालिकाप्रति ध्यान नदिनु ।
अहिलेको वर्तमान समयमा मानिस कसरी आर्थिक उपार्जन गर्ने भन्ने सोचमा मात्रै ध्यान केन्द्रित गरिरहेको पाईन्छ । उसलाई अर्थका अगाडी परिवार र बालबालिकाहरुको बारेमा पनि ज्ञान हुदैन । पैसाको पछाडी दगुरिरहेको वर्तमान समाजले बालबालिकाहरुको वर्तमान भन्दा भनि भविष्यको चिन्ता गर्ने गरेका छन । आर्थिक संकलनका पछि दौडिने अभिभावकले बालबालिकाले के गरिरहेका छन, उनिहरुको संगत कस्तो व्यक्ति सँग छ, व्यवहारमा परिवर्तन भयो की भन्ने विषयहरुमा चासो नदिदा र बालबालिकाहरुलाई समय नदिदा त्यस्ता बालबालिकाहरु कुलतमा फस्ने गरेका छन । कतिपय अभिभावकहरुले त कुलतमा फसेका बालबालिकाहरुका बारेमा खुलाउन समेत चाहेका हुदैनन् ।
बालबालिकालाई दुव्र्यसनीबाट जोगाउन अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । अभिभावकहरुले बालबालिकाहरुको गतिविधिहरुका बारेमा निगरानी राख्न सके लागुऔषध पनि न्युनिकरण गर्न सकिन्छ । त्यसबाहेक लागू औषधले पार्ने असर, कारणको बारेमा बालबालिकालाई जानकारी हुन जरुरी हुन्छ ।
त्यसका लागि सचेतनामुलक कार्यक्रमहरु गर्ने र त्यसको प्रभावकारीताका बारेमा छलफल गर्ने कार्यहरु गरिनुपर्दछ । पछिल्लो समय लागुऔषध न्यूनिकरणका लागि दैनिकजसो सचेतनाका कार्यक्रम हुने गरेका भएपनि ति कार्यक्रमहरु प्रभावकारी भने हुन सकेका छैनन् । त्यस्ता कार्यक्रमहरु प्रभावकारी बनाउन अभिभावकहरुलाई पनि सहभागि गराईनुपर्दछ । बालबालिकाहरुलाई निगरानी गर्ने र उनिहरुको भविष्यलाई उज्जवल बनाउने सवालमा अभिभावक सचेत बन्न आवश्यक छ ।

















