अत्तरिया- सोमवार बझाङको चैतली मेलामा व्यापारीहरुले नक्कली नोट पाइएका भन्दै प्रहरीलाई बुझाए । छबिसपाथिभेरा गाउँपालिका-३ बान्निचौरस्थित मष्टा मन्दिरमा लागेको चैतली मेलाका व्यापारीले ती नोटहरु नक्कली हुन् भन्ने शंकाका आधारमा प्रहरीलाई बुझाएका थिए ।

छबिसपाथिभेरा-३ की जानकी बोहरासहित १२ जना व्यापारीले पसल बन्द गरी पैसा गन्दा नक्कली नोट भेटाएपछि जिल्ला प्रहरी कार्यालय बझाङमा बुझाएका कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए । उनका अनुसार एक हजार दरका ३७ हजार नक्कली नोटहरु लिखित निवेदनसहित प्रहरीमा बुझाइएको छ ।

नक्कली नोटहरु कहाँबाट आए,कसले दिए भन्ने व्यापारीहरुलाई पनि थाहा नभएको उनी बताउँछन् । ‘मेलामा भिडभाडमा कसले नक्कली पैसा ल्यायो दियो, ख्यालै गर्न सकिएन होला, पछि साँझ पसल बन्द गरेर पैसा गन्दा मात्रै नक्कली नोट हुन् कि भन्ने शंका लागेछ’, उनले भने, ‘हामी यो विषयमा अनुसन्धानको प्रक्रियामै छौँ ।’
सूचना अधिकारी चौधरीले नक्कली नोटका विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए ।















