गर्मी बढेसँगै आगलागीका घटना बढेका छन् । सुदूरपश्चिममा मात्रै पछिल्लो समय दैनिक जसो आगलागीका घटना भइरहेका छन् । प्रदेशमा चैतयता मात्रै ८३ वटा आगलागीका घटना भएका छन् । यो अवधिमा आगलागीमा परी तीन जनाको मृत्यु भइसकेको छ भने चैत महिनामा मात्रै आगलागीबाट १६ ओटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । सो अवधिमा १२ घरमा आंशिक र ५४ घरमा सामान्य क्षति पुगेको छ । आगलागीबाट मानवीय क्षतिका साथै चौपाया क्षति पनि भएको छ । उक्त अवधिमा प्रदेशभर भएका आगलागीका घटनामा १८ चौपाया मरेका छन् । प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आगलागीबाट एक करोड २६ लाख ६४ हजार ५०० रुपैयाँ बराबरको क्षति हुन पुगेको छ ।
आगलागीका घटना बढ्दै गएपछि प्रहरीले प्रदेशभर आगलागी न्यूनीकरणका लागि जनचेतनाका कार्यक्रम सञ्चालन गरेको जनाएपछि त्यति प्रभावकारी भने देखिएको छैन । प्रहरीले गाउँ बस्ती तथा टोलमै पुगेर आगलागी न्यूनीकरण सम्बन्धी जनचेतनाका कार्यक्रम गरिरहेको जनाए पनि अझै पनि आगलागी हुने क्रम रोकिएको छैन भने आगलागी समयमा नियन्त्रण हुन नसक्दा क्षति पनि त्यत्तिकै भइरहेको छ ।


आगलागी अचानक हुने घटना भएकाले त्यसका लागि सबै चनाखो हुन आवश्यक छ । आगलागी हुनुका मुख्य कारण, आगोको प्रयोगमा सावधानी नअपनाउनु नै हो । खाना पकाउँदा होस् या फोहर जलाउँदा, सावधानी नअपनाउने तथा काम सकिसकेपछि पूर्ण रूपमा आगो ननिभाउँदा आगलागी हुनसक्छ । त्यसै गरी, कमजोर विद्युतीय संरचना तथा सामग्रीहरू जस्तै विद्युतीय तार, प्लग, वायरिङ तथा अति कमजोर विद्युतीय सामग्रीहरूको प्रयोगले आगलागी हुने गर्दछ । यसका साथै ग्याँस, मट्टितेल, पेट्रोल, डिजेल जस्ता अति प्रज्वलनशील पदार्थको सावधानी पूर्वक प्रयोग गर्नु आवश्यक हुन्छ । भूकम्प, चट्याङ तथा हुरी बतास जस्ता प्रकोपका कारण पनि आगलागी हुन सक्दछ ।
विभिन्न कारणबाट आगलागी भए पनि समयमै सावधानी अपनाउन सके यसबाट जोगिन सकिन्छ । आगलागीका मुख्य स्रोतहरूको सुरक्षित प्रयोग गर्ने तथा बालबालिकाले भेट्ने ठाउँमा नराख्ने । विद्युतीय सामग्रीहरू तथा खाना पकाउने ग्यासको सुरक्षित प्रयोग गर्ने र गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोग गर्ने । आगलागीको सुरुवाती चरणमा सम्भव भएसम्म सुरक्षित रहेर निभाउने प्रयास गर्ने र यदि आगलागी भयो भने तत्काल पहिले नै पहिचान गरेको सुरक्षित मार्ग हुँदै सुरक्षित स्थानमा निस्कने ।
यदि बाहिर निस्कने वा मूल ढोका बन्द भएको अवस्थामा वैकल्पिक बाटोबाट बाहिर निस्कने । अरूले पनि आगलागीमा परेका मानिसलाई सम्भव भए अवस्था अनुसार कुदेर, पल्टँदै वा अन्य सुरक्षित तरिकाबाट बाहिर निक्लन लगाउने तथा सहयोग पु¥याउने । आगोको घेराबाट निक्लन सम्भव नभए पानीले भिजेको कपडा दिने, प्रयोग गर्ने र त्यस्तो कपडा शरीरमा बेरेर बाहिर निकाल्न सहयोग गर्ने लगायतका काम गर्न सकिन्छ ।
यस्तै आगलागी भइहालेमा आगलागी भएको जानकारी छरछिमेक सम्म राम्ररी पुग्ने गरी कराउँदै वा सिट्ठी फुकेर जनसहभागिता जुटाउने र दमकललाई १०१ र प्रहरीलाई १०० मा फोन गरेर सहयोग माग्दा आगलागीको क्षतिबाट जोगिन सकिन्छ ।

















