नयाँ शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्ना अभियान चलिरहेको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ यस वर्ष विद्यार्थी भर्ना अभियान जारी छ । विद्यालय भर्ना हुने उमेर समूहका करिब ९६ प्रतिशत बालबालिका विद्यालय भर्ना भए पनि अझै ४ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाट बाहिर रहेको सरकारी तथ्याङ्क छ ।
हुनेखानेले आफ्ना बालबालिकालाई विद्यालय पठाउने गरेका भए पनि विपन्न, गरिब परिवारका बालबालिका नै विद्यालयको पहुँच बाहिर छन् । शैक्षिक सत्रको मुखैमा जसोतसो विद्यार्थी विद्यालयमा पु¥याइएपछि ती विद्यार्थीलाई विद्यालयमा टिकाउनु भने चुनौतीपूर्ण छ ।
पछिल्लो समय विद्यार्थी भर्ना गरेर पढाउनु मात्रै नभएर विद्यार्थीलाई दिइने शिक्षामा गुणस्तर कायम गर्नु पनि उत्तिकै चुनौतीपूर्ण बन्दै गएको छ । जसको उदाहरणको रूपमा हालै पालिका स्तरमा भएको कक्षा ८ को परीक्षाको नतिजाले पनि त्यो कुरालाई पुष्टि गरेको छ ।


शैक्षिक सत्र २०७९ को नगर स्तरीय परीक्षामा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको कैलालीको गोदावरीमा शैक्षिक सत्र २०८० मा आधा विद्यार्थी पनि उत्तीर्ण हुन सकेनन् । नगरपालिकाले सार्वजनिक गरेको नजिता अनुसार ४३.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नगरमा कुल २ हजार ६२७ विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ हजार १४५ विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । यसले विद्यार्थीहरूलाई जसरी पनि विद्यालयमा ल्याउनुमा मात्रै ध्यान नदिएर शिक्षाको गुणस्तरमा व्यापक सुधारको पनि आवश्यकता रहेको देखिन्छ ।
शिक्षा नै विकासको मूल मेरुदण्ड भएकाले स्थानीय सरकारले यसमा विशेष जोड दिएर शिक्षाको व्यापक सुधार गर्न आवश्यक छ । जसले मात्रै पालिकाले विद्यालयमा विद्यार्थी भर्ना गरेको अभियानले सार्थकता पाउने छ ।

















