खाेज्नुहाेस

असार ताक्ने प्रवृत्ति रोकौँ

Image

कैलालीको गोदावरी नगरपालिकाले चालु आर्थिक वर्षमा ३६ वटा सडक कालोपत्रे गर्दै छ । नगरपालिकाले १२ वटै वडामा सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता समेत गरिसकेको छ । नगरपालिकाले निर्माण गर्न लागेको ३६ सडकको कुल लम्बाई ७ किलोमिटर मात्रै छ । जसमा बजार देखि ग्रामीण भेगका टुक्रा सडक समेटिएका छन् ।

सडक निर्माणका लागि नगरपालिकाले ४ करोड ३८ लाख ९५ हजार ४३८ रुपैयाँमा ३ वटा निर्माण कम्पनी सँग ठेक्का सम्झौता गरेको छ । असार मसान्त भित्र काम सक्ने गरी सडक निर्माणको सम्झौता गरेको भए पनि काम निकै सुस्त गतिमा भइरहेको छ ।

attariya hospital
navjiwan hospital

सोही सडक अन्तरगत निर्माणका लागि छनोट भएको अत्तरिया बजार क्षेत्रको आदर्श गल्लीको सडकमा ठेकेदारले पहिले फुटेको कालोपत्रेलाई पनि भत्काएर झन् सडक बिगारेको भए पनि बनाउने काम भने सुरु गरेको छैन । बजार क्षेत्रका अन्य सडकको अवस्था पनि त्यस्तै छ ।

जसका कारण चालु आर्थिक वर्षमा पनि विकास निर्माणका काममा असार ताक्ने प्रवृत्तिको पुनरावृत्ति हुने चिन्ता बढेको छ । नेपालमा अधिकांश विकास निर्माणका काममा असारमा काम सक्नुपर्ने बाध्यताले हतारमा काम गर्ने तर, समय छदा वास्ता नगर्ने प्रवृत्ति व्याप्त छ । जसले गर्दा कामको गुणस्तरमा कमजोरी हुनुका साथै असारमा वर्षा पनि सुरु हुने भएकाले सर्वसाधारणले सास्ती समेत खेप्ने गरेका छन् ।

वर्षेनी यही प्रवृत्ति दोहरिँदा पनि यसलाई रोक्नको लागि भने राज्यका निकाय पनि मौन हुने गरेका छन् । काम गर्ने ठेक्का सम्झौता भएर पनि ठेकेदार काम नगरी बेपत्ता हुँदा समेत राज्यले चासो नदिँदा जनताले भने वर्षेनी सास्ती खेप्दै आएका छन् । त्यसैले असारमा मात्रै गरिने यस्ता विकास निर्माणका कामलाई रोक्न समय छदै स्थानीय सरकारले ठेकेदारलाई झकझक्याएर समयमै काम सक्न आवश्यक छ ।