मुम्बई- अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएका एक अज्ञात व्यक्ति बान्द्रास्थित उनको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका छन् ।

मुम्बई प्रहरीले कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ । सलमानलाई ग्याङस्टार लरेन्स बिश्नोईले कैयौँ पटक ज्यान मार्ने धम्की दिइसकेको हुँदा बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले सलमानको सुरक्षालाई थप बढाएको छ । सलमानलाई राज्यले वाई प्लस सुरक्षा दिँदै आएकोमा यस घटनापछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । वाई प्लस सुरक्षामा ११ सुरक्षाकर्मीहरूले सुरक्षा दिन्छन् । यसमा २ देखि ४ जना सीआरपीएफ वा सीआईएसएफ कमाण्डो र पुलिसहरू हुन्छन् ।

















