धनगढी – सुदूरपश्चिम प्रदेशसभाले गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन, सांसदको सेवा–सुविधा, तलबभत्ता, स्वकीय सचिव, गाडी तथा इन्धनलगायतमा १४ करोड २ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ। तर, सो अवधिमा प्रदेशसभाले दुईवटा विधेयक मात्रै पारित गरेको छ।

प्रदेशसभा सचिवालयका अनुसार दोस्रो कार्यकालमा हालसम्म २३ विधेयक दर्ता भएकामा १६ वटा पारित भएका छन्। पारितमध्ये १३ वटा पुराना कानुन संशोधनसम्बन्धी छन् भने नयाँ अवधारणा बोकेका तीनवटा मात्रै कानुन बनेका छन्।

गत आर्थिक वर्षभरि प्रदेशसभाका ३० वटा बैठक बसेका थिए। लामो समय अधिवेशन चले पनि बैठक न्यून हुँदा प्रदेशसभाको कार्यसम्पादनमाथि प्रश्न उठेको छ। हाल पनि बजेटसम्बन्धी दुईसहित ११ वटा विधेयक विचाराधीन छन्।
जनसरोकारका दलित सशक्तीकरण, जीवनाशक विषादी व्यवस्थापन, आमसञ्चार तथा जनस्वास्थ्य सेवासम्बन्धी कानुनसमेत प्रक्रियामै अल्झिँदा प्रदेशसभाको प्रभावकारितामाथि प्रश्न उठेको छ।

















