दार्चुला – नेपाली चलचित्र ‘ए मेरो हजुर ५’ को छायांकन सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा हुने भएको छ । चलचित्रका निर्माता तथा अभिनेता सुनिल थापा र अभिनेत्री तथा निर्देशक झरना थापाले आगामी चलचित्रको छायांकन अपिहिमाल, बडीमालिका, खप्तड, रामारोसन, धनगढी र महेन्द्रनगर क्षेत्रमा गर्ने बताएका हुन् ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बोहराका अनुसार चलचित्र टिमसँग भएको छलफलको क्रममा चलचित्रमार्फत नेपालको पर्यटन प्रवद्र्धन र लुकेका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहज हुने छ । अपिहिमाल गाउँपालिकाले पर्यटकीय गन्तव्यको रूपमा चिनाउने अभियान यसअघि सुरू गरिसकेको छ ।

अपिहिमालको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, जनजीवन र ग्रामीण परिवेशलाई चलचित्रका अधिकांश दृश्यमा समेट्ने योजना रहेको अध्यक्ष बोहराले जानकारी दिए ।
चलचित्र छायांकनले अपिहिमालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त उनले गरे । छायांकन सफल बनाउन स्थानीय समुदायको सक्रिय सहयोग आवश्यक रहने उल्लेख गर्दै निर्माण पक्षले स्थानीयवासीको साथ र समर्थनको अपेक्षा समेत गरेको छ । पर्यटन र चलचित्रको संयोजनले सुदूरपश्चिमका नयाँ पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा सहयोग पुग्ने भन्दै स्थानीय खुसी व्यक्त गरेका छन् ।

















