काठमाडौँ । दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशन रहेको चलचित्र ‘चिरञ्जीवी भवः’ को छायाङ्कन सकिएको छ । ५१ दिनमा चलचित्रको छायाङ्कन सकिएको हो । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको गत जेठ १५ बाट छायाङ्कन सुरु भएको थियो । धनकुटा, सुनसरी र काठमाडौँमा चलचित्रको छायाङ्कन गरिएको छ ।
गत वर्ष आचार्यले निर्देशन गरेको ब्लक बस्टर चलचित्र ‘परान’ गत वर्षको सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो । ‘हामीले मन खोलेर समय लगाएर चलचित्रको छायाङ्कन गरेका छौँ । अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ,’ निर्देशक आचार्यले भने, ‘कलाकार र प्राविधिकले जसरी छायाङ्कनमा मेहनत गरेका छन्, अब पोस्टमा पनि त्यतिकै मेहनत गरेर दर्शकलाई मन पर्ने चलचित्र लिएर आउनेछौँ ।’


चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा हरिवंश आचार्य, करिस्मा मानन्धर, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझी, कमलमणि नेपाल, रवीन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताल, सुमन ज्योति न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।
सोसल ड्रामा ‘चिरञ्जीवी भवः’ ले दुई पुस्ताबिचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ । उमेशकुमार बराल र चिरन के.सी.निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् । निर्देशक दीपक आचार्य आफैँले यस चलचित्रको गीत समेत लेखेका छन्, जसमा हर्क साउदको पनि रहने छ । चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन, मित्र डी. गुरुङको सम्पादन र बाबुल गिरीको संगीत, गम्भीर विष्ट र किरण थापा नृत्य निर्देशन गरेका छन् ।
पब्लिसिटी डिजाइन टाउवा स्टुडियो (विजय बस्याल) रहेको चलचित्र रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्दैछ । चलचित्र २०८३ माघ १ गते (१५ जनवरी) बाट देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ ।















