लम्की – कैलालीको लम्कीचुहा स्थित लम्कीचुहा प्रादेशिक अस्पताललाई सहज रूपमा सञ्चालन गर्ने वातावरण बनाउन माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लम्कीचुहा नगर समितिले सोमबार लम्की चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण प्रसाद उपाध्यायसमक्ष ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।
ज्ञापनपत्रमा लम्कीचुहा नगरपालिकाको २०८१ कार्तिक ११ गतेको निर्णयबाट १५ शय्याको अस्पताललाई ५० शैयाको अस्पतालमा स्तरोन्नतिका लागि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई सिफारिस गरिएको उल्लेख गरिएको छ ।


उक्त सिफारिसका आधारमा सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृतिका लागि नेपाल सरकारसमक्ष अनुरोध गरेको र नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ जेठ २६ गतेको निर्णयबाट स्वीकृति प्रदान गरी लम्कीचुहा क्षेत्रमा प्रादेशिक अस्पताल स्थापना भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । तर, अस्पताल सहज रूपमा सञ्चालन हुनुपर्ने अवस्थामा नगरपालिकाबाट चिकित्सकहरूलाई विभिन्न किसिमका अवरोध सिर्जना भइरहेको र त्यसका कारण बिरामीहरूले औषधि उपचार पाउन नसकेको रास्वपा नगर समितिको ठहर गरेको छ ।
अस्पतालसँग प्रत्यक्ष रूपमा जोडिएका तथा यस क्षेत्रका सर्वसाधारणसमेत उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था रहेको भन्दै रास्वपा लम्कीचुहाले आर्थिक रूपमा कमजोर नागरिकलाई थप समस्या परेको जनाएको छ ।
रास्वपा नगर समितिले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन, अस्पताल सञ्चालनमा देखिएका अवरोध तत्काल हटाउन र स्थानीय नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवस्था सिर्जना गर्न नगरपालिकासँग माग गरेको छ । ज्ञापनपत्रमा रास्वपा लम्कीचुहा नगर सभापति नामकर खनाल र नगर सचिव धर्मराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

















