खाेज्नुहाेस

गोदावरीमा बहुउद्देश्यिय खेलकुद रंगशाला निर्माणको माग

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा बहुउद्देश्यिय खेलकुद रंगशाला हुनुपर्ने माग गरिएको छ । आईतबार पिएफए स्पोट्र्स क्लबले आयोजना गरेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का पदाधिकारी तथा गोदावरी नगरक्षेत्रका पदक विजेता खेलाडीहरुलाई सम्मान कार्यक्रममा खेलकुदको विकासका लागि गोदावरीमा बहुउद्देश्यिय खेलकुद रंगशाला हुनुपर्ने माग गरिएको हो ।

प्रदेश खेलकुद परिषद्का पदाधिकारीहरुलाई सम्मान तथा बधाई ज्ञापन गर्दै पिएफए स्पोट्र्स क्लबका संस्थापक अध्यक्ष सन्तोष भट्टले गोदावरी क्षेत्रमा व्यवस्थित खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले खेलाडीको प्रतिभा पहिचानदेखि प्रशिक्षण र राष्ट्रियस्तरका प्रतियोगितासम्मका लागि स्तरीय खेलमैदान तथा रंगशाला आवश्यक रहेको औल्याए । ‘गोदावरी राजधानी घोषणा गरिएको नगर समेत हो । राजधानी क्षेत्रमा नै खेलाडीहरुले अभ्यास गर्ने व्यवस्थित मैदान नहुनु दुःखद् विषय हो’ उनले भने, ‘अब स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय गरेर गोदावरीमा आधुनिक रंगशाला निर्माणको पहल गर्नुपर्छ ।’

attariya hospital

उनले रंगशाला निर्माण भएपछि खेलाडीलाई नियमित प्रशिक्षणको वातावरण बन्नुका साथै स्थानीयस्तरमा खेलकुद प्रतियोगिता आयोजना गर्न सहज हुने बताए । ‘खेलकुद केवल मनोरञ्जनको विषय होइन, यसले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक बाटोमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छ’ भट्टले भने ‘त्यसैले खेलकुद पूर्वाधारमा गरिएको लगानीलाई खर्च नभई भविष्यका पुस्तामाथिको लगानीका रूपमा लिनुपर्छ ।’ उनले गोदावरीका खेलाडीहरुले सीमित स्रोतसाधनका बाबजुद प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको समेत उल्लेख गरे ।

navjiwan hospital

क्लबका वरिष्ठ सल्लाहकार डा. डम्बर पालले खेलकुद क्षेत्रमा फड्को मारिरहेको गोदावरीमा अझै पनि व्यवस्थित खेलकुद पूर्वाधारको अभाव रहेको बताए । उनले रंगशाला निर्माण हुन नसक्दा स्थानीय खेलाडीहरुले नियमित प्रशिक्षण तथा प्रतियोगिताका लागि पर्याप्त अवसर पाउन नसकेको बताए । ‘गोदावरीमा खेलकुदप्रति युवाको आकर्षण बढिरहेको छ । तर, खेलाडीले अभ्यास गर्ने र प्रतियोगिता आयोजना गर्ने व्यवस्थित संरचना अभाव छ’ उनले भने, ‘रंगशाला निर्माण भए विभिन्न विधाका खेलाडीले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाउनेछन् ।’

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले अत्तरियामा व्यवस्थित रंगशाला निर्माणका लागि प्रदेश र संघीय सरकारसँग बजेट सुनिश्चित गर्न आग्रह गरेका छन् । उनले अत्तरियामा विभिन्न विधाका खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने व्यवस्थित रंगशालाको अभाव रहेको बताए । उनले स्थानीयस्तरमा खेलाडीको संख्या र खेलकुदप्रतिको आकर्षण बढ्दै गए पनि पर्याप्त पूर्वाधार नहुँदा खेलाडीले अपेक्षित अवसर पाउन नसकेको उल्लेख गरे । ‘अत्तरियामा एउटा व्यवस्थित रंगशाला अत्यन्तै आवश्यक छ । यहाँ खेलाडी पनि छन्, खेलप्रति आकर्षण पनि छ, तर त्यसअनुसारको पूर्वाधार छैन,’ उनले भने, ‘रंगशाला निर्माण भए अत्तरियामा नियमित प्रतियोगिता आयोजना गर्न सकिनेछ भने स्थानीय खेलाडीले समेत नियमित अभ्यास गर्ने अवसर पाउनेछन् ।’

उनले रंगशाला निर्माण नगरपालिकाको मात्रै बजेट र स्रोतबाट सम्भव नहुने स्पष्ट पार्दै प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको बताए । ‘गोदावरी नगरपालिकाले मात्रै रंगशाला निर्माण गर्न सक्ने अवस्था छैन,’ सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का पदाधिकारीतर्फ इंकित गर्दै उनले भने, ‘त्यसैले यहाँहरुमार्फत प्रदेश सरकार र संघीय सरकारसँग अत्तरियामा रंगशाला निर्माणका लागि आवश्यक बजेटको सुनिश्चितता गर्न आग्रह गर्दछु ।’ नगरप्रमुख भट्टले रंगशाला निर्माणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने र निर्माण प्रक्रियामा आवश्यक अन्य सहयोग गर्नसमेत नगरपालिका तयार रहेको बताए ।

सम्बन्धित समाचार“सुदूरपश्चिम खेलकुदमा अघि, बजेटमा पछि छ”

                            : सुदूरपश्चिम खेलकुद परिषद्का पदाधिकारी र गोदावरीका पदक विजेता खेलाडी सम्मानित