अत्तरिया– सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी तथा गोदावरी नगरक्षेत्रका पदक विजेता खेलाडीहरुलाई सम्मानित गरिएको छ । आईतबार एक औपचारीक कार्यक्रमका बिच अत्तरियामा रहेको पिएफए स्पोट्र्स क्लबले खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी र गोदावरी नगरक्षेत्रका पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।

क्लबकी उपाध्यक्ष भगवती साउँदको सभापतित्वमा आयोजित सम्मान तथा बधाई ज्ञापन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट रहेका थिए । कार्यक्रमलाई सैनिक आवाशिय महाविद्यालय तेघरीले विशेष सहकार्य गरेको थियो ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्मा सदस्य सचिव लोक बहादुर खड्का सहित सदस्यहरु कञ्चनपुरबाट काशीराम बोहरा र लिला सिँह बोहरा, कैलालीबाट प्रमोद मल्ल, दिपजंग शाही र नीता खत्री, दार्चुलाबाट श्यामसिँह सिनाल, बैतडीबाट पूर्ण टेर, बझाङबाट नवीन सिँह, डोटीबाट रुपेन्द्र धामी, अछामबाट चेतमान बिक्रम शाह र डडेल्धुराबाट गौरी हमाल नियुक्त भएका थिए । क्लबले नवनियुक्त सबै पदाधिकारीहरुलाई सम्मानित गर्दै बधाई दिएको हो ।
त्यसबाहेक कार्यक्रममा गोदावरी नगरक्षेत्रबाट विभिन्न राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई दोसल्ला तथा सम्मान पत्रले सम्मानित गरिएको थियो । सम्मानित हुनेमा दौडका सुरेश चौधरी, तेक्वान्दोका अमन चौधरी, उसुका चेत जोरा र नवीन सार्की तथा राष्ट्रिय टिमकी महिला फुटबल खेलाडी मिना देउवा रहेका छन् । खेलकुदका माध्यमबाट नगरक्षेत्रलाई राष्ट्रिय स्तरसम्म चिनाउन सफल भएको भन्दै क्लबले पदक विजेता खेलाडीहरुलाई सम्मानित गरेको जनाएको छ ।



















