खाेज्नुहाेस

“सुदूरपश्चिम खेलकुदमा अघि, बजेटमा पछि छ”

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले खेलकुदमा सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा अगाडि रहे पनि बजेटका हिसाबले भने निकै पछाडि रहेको बताए । उनले पर्याप्त स्रोतसाधन र पूर्वाधारको अभावका बाबजुद सुदूरपश्चिमका खेलाडीहरुले राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए ।

आईतबार पिएफए स्पोट्र्स क्लबले आयोजना गरेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का पदाधिकारी तथा गोदावरी नगरक्षेत्रका पदक विजेता खेलाडीहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले देशभर आयोजना हुने विभिन्न खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट उल्लेख्य सहभागिता हुने गरेको उल्लेख गरे । ‘सुदूरपश्चिमका खेलाडीहरु अभावै अभावका बीच खेलिरहेका छन् । आवश्यक खेलमैदान, प्रशिक्षणस्थल, खेल सामग्री र पर्याप्त बजेटको अभाव छ,’ उनले भने, ‘यति हुँदाहुँदै पनि खेलाडीहरुले प्रदेशको नाम उच्च राखिरहेका छन् ।’

attariya hospital
navjiwan hospital

खड्काले सुदूरपश्चिमको खेलकुद विकासका लागि राज्यका सबै तहबाट अपेक्षित चासो र लगानी हुन नसकेको गुनासो गरे । उनका अनुसार खेलकुदलाई प्राथमिकतामा राखेर स्थानीय तहले निश्चित प्रतिशत बजेट छुट्याउने हो भने प्रदेशको खेलकुदलाई अझ माथि उठाउन सकिन्छ । ‘प्रदेशका सबै पालिकाले आफ्नो बजेटको निश्चित प्रतिशत खेलकुदका लागि छुट्याउने हो भने यहाँको खेलकुदको अवस्था निकै परिवर्तन गर्न सकिन्छ,’ उनले भने, ‘खेलाडी उत्पादनदेखि उनीहरुको प्रशिक्षण र प्रतियोगितामा सहभागितासम्मका लागि स्थानीय तहले लगानी गर्न आवश्यक छ ।’

उनले शिक्षा र स्वास्थ्यजस्तै खेलकुदलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताए । शिक्षा र स्वास्थ्यसँग खेलकुदको प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै उनले ती क्षेत्रका कार्यक्रम तथा बजेटमा समेत खेलकुदलाई समेट्न सकिने धारणा राखे । ‘खेलकुदमा लगानी भयो भने स्वस्थ र अनुशासित नागरिक निर्माण हुन्छन् । यसले स्वास्थ्य क्षेत्रमा हुने खर्चसमेत घटाउन सहयोग पु¥याउँछ,’ उनले भने, ‘त्यसैले खेलकुदलाई छुट्टै क्षेत्रका रूपमा मात्रै हेर्नुभन्दा शिक्षा, स्वास्थ्य र सामाजिक विकाससँग जोडेर अघि बढाउनुपर्छ ।’

खड्काले खेलकुदको विकास कुनै एक निकाय वा क्षेत्रको एकल प्रयासबाट मात्रै सम्भव नहुने बताए । स्थानीय तह, प्रदेश सरकार, निजी क्षेत्र, विभिन्न संघसंस्था तथा खेलकुदसँग सम्बन्धित निकायबीच सहकार्य र संयुक्त लगानी आवश्यक रहेको उनको भनाइ छ ।