खाेज्नुहाेस

कपिललाई शोमा ल्याउन चन्दनले दिएका थिए आफ्नै बलिदानी

Image

नयाँ दिल्ली । कपिल शर्मा आज भारतका सबैभन्दा चर्चित कमेडियनमध्ये एक हुन् । सन् २००७ मा द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज सिजन ३ को विजेता बनेपछि उनले देशभर पहिचान पाएका थिए । तर, उनलाई सो शोको अडिसनमा दुई पटक रिजेक्ट गरिएको थियो । साथी चन्दन प्रभाकरको अडान र सहयोगका कारण नै कपिलले त्यो शोमा प्रवेश पाएका थिए, जसको बदलामा चन्दन आफैँ शोबाट बाहिरिनुपरेको थियो ।

कपिल शर्माको शोमा चन्दन प्रायः चन्दू चायवालाको भूमिकामा देखिन्छन् । दुवै जना दशकौँदेखि एकापसमा असल साथी हुन् र करिअरको सुरुवाती दिनहरूमा सँगै सङ्घर्ष गर्थे । हालै एलपीयू डिएसडब्ल्यू च्यानलसँगको कुराकानीमा चन्दनले ‘लाफ्टर च्यालेन्ज’सँग जोडिएको एउटा प्रसङ्ग सेयर गरेका छन्, जसले दुवैको करिअरको दिशा बदलेको थियो । चन्दनका अनुसार उनले कपिल र कमेडियन राजीव ठाकुरसँगै ‘लाफ्टर च्यालेन्ज’को अडिसन दिएका थिए । चन्दन र राजीव छनोट भए पनि कपिल भने रिजेक्ट भए । कपिल जत्तिको प्रतिभाशाली कमेडियन रिजेक्ट भएपछि दुवै साथी निकै दुःखी बनेका थिए ।

attariya hospital
navjiwan hospital

कपिल पञ्जाब राउन्डमा छनोट नभएपछि दिल्ली राउन्डमा पुनः प्रयास गर्ने निर्णय गरे । त्यतिबेला चन्दनको सुटिङ सुरु हुन लागेको थियो, तर कपिलको आग्रहमा उनी सुटिङ छाडेर चुपचाप दिल्ली गए । दिल्लीमा लामो समय लाइनमा बसेर कपिलले अडिसन दिए । अडिसन राम्रो भए पनि कपिललाई सुरुमा चयन भएको कुनै कल आएन । त्यसपछि चन्दन र राजीव ‘लाफ्टर च्यालेन्ज’को सुटिङमा फर्किए । तर, त्यहाँ पुगेर पनि उनीहरूले कपिलको पक्षमा माहोल बनाइरहे । उनीहरूले शोका असिस्टेन्ट डाइरेक्टरहरूसँग कपिललाई नचुनेर ठुलो गल्ती गरिएको भन्दै निरन्तर सिफारिस गरिरहे ।

अन्ततः उनीहरूको मिहिनेत सफल भयो र निर्माताले कपिललाई शोमा बोलाए । तर, यो निर्णय चन्दनका लागि धक्का बन्यो । शोमा कपिल फर्किए तर निर्माताले चन्दनलाई भने बाहिरिन भने । कपिलले चन्दनलाई नै रिप्लेस गरेका थिए । सपना भत्किए जस्तो भए पनि चन्दनले खुसीखुसी त्यो निर्णय स्वीकार गरेर घर फर्किए । त्यसपछि कपिल शर्मा सोही सिजनका विजेता बने ।

घर फर्किएपछि चन्दनले इन्जिनियरिङको पढाइ पूरा गरे । कमेडियन बन्नुअघि उनी मेकानिकल इन्जिनियर थिए र एउटा सफ्टवेयर कम्पनीमा काम गर्थे । तर, पछि त्यो काम आफ्नो लागि उपयुक्त नभएको महसुस गरी उनी पुनः कमेडीमै फर्किए । उनी लामो समयसम्म कपिल शर्माका शोहरूमा नियमित देखिएका थिए, यद्यपि नेटफ्लिक्समा आएको द ग्रेट इन्डियन कपिल शोमा भने उनी सहभागी भएनन् ।