अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालित आठौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रकरणका आरोपी ४ जना प्रहरी हिरासतमा पुगेका छन । शुक्रबार उक्त प्रकरणका आरोपीत ४ जना स्वयम् प्रहरी हिरासतमा पुगेका हुन ।

संघका महासचिव शंकर खड्का, सचिव दिपिन कुमार साउँद, सदस्य बम बहादुर बोगटी र टिकट काट्ने जिम्मा पाएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा आफै प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । संघको कार्यसमितिले सचिव साउँद र स्ववियु सभापति महरा विरुद्ध नक्कली टिकट प्रकरणमा किटानी जाहेरी दिएको थियो ।

तर त्यसको दोस्रो दिन अध्यक्ष सहितका केही पदाधिकारीले महासचिव खड्का, सदस्य बोगटी लगायतका विरुद्ध पनि किटानी जाहेरी दिएको थियो । त्यसपश्चात निष्पक्ष छानविनका लागि सघाउने भन्दै महासचिव खड्का र सदस्य बोगटी प्रहरी कार्यालयमा आफै उपस्थित भएका थिए भने त्यसको केही समय पछि सचिव साउँद र स्ववियु सभापति महरा पनि कार्यालयमा उपस्थित भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता कुलदिप चन्दले जानकारी दिए ।
उनले किटानी जाहेरी भएका ४ जना प्रतिवादी जिल्ला प्रहरी कार्यालयमा पुगिसकेको बताए । उनले अदालतबाट ५ दिनको समय दिईएकाले उनिहरुलाई हिरासतमै राखेर अनुसन्धान थालिने बताए ।

















