अत्तरिया – कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराका आफन्त र यातायात व्यवसायी बिच तीन दिन पछि सहमति भएको छ । बोहराको आइतबार साँझ ४ बजेर ४८ मिनेटमा अत्तरिया बसपार्क अगाडी बसको ठक्करबाट मृत्यु भएको थियो ।

मृत्यु लगतै बसले किचेर मारेको भन्दै आफन्त र स्थानीयले कारबाही र क्षतिपूर्तिको माग राख्दै अत्तरिया बजारमा चक्काजाम सहित विरोधका कार्यक्रम सुरु गरेका थिए । आफन्तले घटना पछि प्रहरीले शव उठाउने प्रक्रिया पनि पुरा नगरेको भन्दै विरोध जनाएका थिए ।
घटनापछि सडकमा चक्काजाम, इलाका प्रहरी कार्यालय घेराउ लगायतका कार्यक्रम गरेका मृतकका आफन्त र यातायात व्यवसायी बिच मंगलबार राती मात्रै सहमति भएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हीरा महराका अनुसार मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति भएपछि भएको छ । सो सहमति पछि आज (बुधवार) बिहानदेखि गर्ने भनिएको चक्काजामको कार्यक्रम पनि फिर्ता भएको मृतकका भतिजा शिवराज बोहराले बताए ।
झाङको मस्टा गाउँपालिका ६ का वडाध्यक्ष समेत रहेका उनले मंगलबार राती १०/११ बजे सहमति भएको बताए । क्षतिपूर्ति दिने सहमति भए पनि मुद्दा भने फिर्ता नलिएको उनले बताए । ‘गाडिले किचेर मारेको स्पष्ट देखिएकाले गाडी चालकलाई कारबाहीका लागि दिएको निवेदन फिर्ता नलिएको उनको भनाइ छ ।
आइतबार महेन्द्रनगरबाट यात्रु लिएर दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ९५६ नम्बरको महाकाली यातायातको बसले बझाङ मस्टा घर भई हाल अत्तरिया बसोबास गर्दै आएकी ५३ वर्षीय सिन्की बोहरालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।















