खाेज्नुहाेस

मन्त्री रावललाई डडेल्धुराका सहकारी पीडित र भूमिहीनले सुनाए समस्या

Image

डडेलधुरा – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई डडेलधुरामा सहकारी पीडित, भूमिहीन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्ना समस्या र माग सुनाएका छन् । मंगलबार डडेलधुरा पुगेकी मन्त्री रावलले सुरुमा उग्रतारा मन्दिरमा दर्शन गरेकी थिइन्, त्यसपछि भूमि समस्या समाधान आयोगसम्बन्धी बैठकमा सहभागी भइन् ।

जिल्ला प्रशासन कार्यालय डडेलधुरामा जिल्ला तथा स्थानीय तहका कार्यालय प्रमुखहरूसँग पनि छलफल गरेकी थिइन । त्यसपछि मन्त्री रावलले शिवशिखर सहकारीका पीडितसँग भेट गरेकी थिइन् । भेटमा पीडितहरूले चार वर्षदेखि बचत रकम फिर्ता हुन नसकेको भन्दै तत्काल पहल गर्न आग्रह गरे ।

attariya hospital

डडेलधुरामा शिवशिखर सहकारीबाट झण्डै ६ हजार बचतकर्ताको करिब ३१ करोड रुपैयाँ अपचलन भएको पीडितहरूको दाबी छ । शिवशिखर सहकारी पीडित संघर्ष समितिका संयोजक मानबहादुर साउँदले लामो समय बितिसक्दा पनि बचत फिर्ता हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

navjiwan hospital

पीडितहरूले ‘सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको झण्डै चार वर्ष भयो, रकम फिर्ता पाउन अझै कति वर्ष लाग्छ सरकार ?’ भन्दै मन्त्री रावललाई ज्ञापनपत्र बुझाएका थिए ।

मन्त्री रावलले सहकारी र भूमिहीनका समस्या सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् । सहकारी सञ्चालकहरूको खाता रोक्का गर्ने तथा सम्पत्तिको खोजी गर्नेलगायतका काम भइरहेको बताउँदै उनले बचतकर्ताको रकम फिर्ताका लागि पहल भइरहेको बताइन् ।

मन्त्री रावललाई उद्योग वाणिज्य संघ डडेलधुरा, निर्माण व्यवसायी संघ, नागरिक समाज, भूमिहीन पीडित संघर्ष समिति, क्रिकेट संघलगायत संघसंस्थाले पनि ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले जिल्लाको विकास, भूमि समस्या, सहकारी, खेलकुदलगायतका विषयमा आफ्ना माग र समस्या राखेका थिए ।

डडेल्धुरा पुगेकी मन्त्री रावलले जिल्लाको प्रसिद्ध धार्मिकस्थल उग्रतारा मन्दिरमा दर्शन गरेकी छन्।