खाेज्नुहाेस

शीतलहरबाट बचौँ र बचाऔँ

Image

पुस महिनाको उत्तरार्धतिर आउँदा चिसो अत्याधिक बढेको छ । तराई मधेस क्षेत्रमा शितलहर र चिसोले जनजीवन अस्तव्यस्त पारेको छ । कैलाली, कञ्चनपुर लगायत देशभरका तराई क्षेत्रहरुमा शीतलहरको प्रभाव देखिएको छ । पछिल्लो केही दिन यता चिसो बढेतापनि बिहीबार देखी भने कैलाली, कञ्चनपुर लगायतका क्षेत्रमा अत्याधिक मात्रामा चिसो बढेको छ । तराईमा झुपडीमा बस्ने अधिकांश व्यक्तिहरुलाई यो कठ्यांग्रिदो चिसोले बढी प्रभावित बनाएको छ ।

बिहीबार देखि तराईका क्षेत्रहरुमा सितलहर चलेको छ । यथार्थमा चिसो प्राकृतिक कालचक्रको स्वाभाविक देन हो । जाडो याममा हुस्सु लाग्नु, शीतलहर चल्नु अस्वाभाविक होइन तर शीतलहर र अत्यधिक जाडोका कारण कठ्याङ्ग्रिएर मानिसहरूको मृत्यु हुनु दुःखलाग्दो विषय हो । शीतलहर केही समयको मौसमी स्थिति भनेर मौन रहनु हुदैन, यसले कृषि व्यवसायलाई क्षति, पशुपक्षीको मृत्यु, विद्यालयको पठनपाठन स्थगित र मानिसहरु बिरामी हुनुका साथै मृत्यु समेत हुने गर्दछ । त्यसैले यसलाई संवेदनशिल विषयका रुपमा लिनुपर्दछ ।

attariya hospital
navjiwan hospital

चिसो, शीतलहर लगायत प्राकृतिक विपत्तिको क्षति न्यूनीकरणका लागि पूर्व तयारी नै सबभन्दा ठूलो उपाय हो । प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा लैजाने संयन्त्रको विकास र मौसम पूर्वसूचना प्रणालीमा उचित प्रबन्धले यस्ता विपद जोखिम घटाउन सकिन्छ । तराई क्षेत्रमा शीतलहरबाट प्रभावित हुने क्षेत्र र जनसङ्ख्याको पूर्वअनुमान, नक्साङ्कन गरी आवश्यक होसियारी अपनाउन सकिन्छ । आगो ताप्न दाउरा, न्यानो लुगा वितरण गर्नुपर्छ । चिसोका कारण हुने रोगको उपचारका निम्ति स्वास्थ्य निकायमा पर्याप्त औषधिको व्यवस्था गर्नुपर्छ । यसबाट जोगिन सचेतना अभिवृद्धि गर्दै सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आवश्यक स्रोत, साधनको पूर्व प्रबन्ध गर्नु र प्रभावित परिवारलाई सहयोग गर्नु आवश्यक छ ।

वृद्धवृद्धा तथा बालबालिका जाडो मौसमले बढी प्रभावित हुने भएकाले उनीहरूलाई जाडोबाट बचाउन आवश्यक छ । बालबालिकालाई चिसोमा जथाभावी खेल्न नदिने, न्यानो कपडा लगाइदिनु पर्छ । चिसो मौसमको कारण निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिक्स, रक्तचाप, छालाको समस्या लगायतका रोग लाग्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ । चिसोले सबैभन्दा बढी छातीमा असर गर्ने भएकाले शरीर ढाक्ने न्यानो लुगा लगाउनुपर्छ । सकेसम्म हातखुट्टा र अनुहार पनि ढाक्नुपर्छ । नाकमुख छोप्ने मास्क र गाला, कान तथा गला ढाक्ने टोपी लगाउनुपर्छ । हिँडडुल गर्दा चश्मा लगाउनु आँखाका लागि राम्रो हुन्छ । शरीरका अरु अंग ढाके पनि अनुहारको त्यति ख्याल गरिएको पाइदैन । तर, अनुहारको पनि उत्तिकै हेरविचार गर्नुपर्छ ।

अन्य क्षेत्रको तुलनामा तराईमा जाडोले अत्यन्त सताउने भएकाले तराईका बासिन्दाले जाडोबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने देखिन्छ । तराईका बासिन्दा ग्रिष्म र हिउँद दुवै मौसममा प्रभावित छन् । ग्रीष्म मौसममा भाइरल, हैजा, आगलागी तथा बाढीबाट प्रभावित हुने तराईबासी हिउँदमा शीतलहरबाट आक्रान्त छन् । जाडो मौसम एक वर्ष मात्र आउने होइन, प्रत्येक वर्ष आउँछ । यसका लागि व्यक्ति स्वयम् पनि सजग हुन जरुरी छ । चिसोबाट बच्न शारीरिक व्यायाम गर्ने, बालबालिका र वृद्धलाई चिसोमा नराख्ने, बाक्लो लुगा लगाइदिने, प्रशस्त मन तातो पानी पिउने, बच्चालाई मोटरसाइकलमा नचढाउने, तातो खानेकुरा खाने, अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कने आदि कार्य गरे शीतलहर र चिसोको कहरबाट अवश्य बच्न सकिन्छ ।