धनगढी – विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (STEAM) शिक्षासँग व्यवहारिक रूपमा जोड्ने उद्देश्यले Nandina’s Academy, धनगढीमा सातौँ छुकछुके रोबोट निर्माण कार्यशाला सुरु भएको छ। कार्यशाला असार ९ गतेदेखि प्रारम्भ भएको हो। चार दिनसम्म सञ्चालन हुने यस कार्यशालामा विद्यार्थीहरूले चरणबद्ध रूपमा रोबोट निर्माणका विभिन्न पक्षहरू सिक्नेछन्। कार्यक्रमअन्तर्गत थ्रीडी डिजाइन, मेकानिकल एसेम्बली, इलेक्ट्रोनिक्स जडान, प्रोग्रामिङ तथा रोबोट परीक्षण सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिनेछ।
विद्यालयकी प्राचार्य सन्जु आचार्यले आजको शिक्षाले केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई विद्यार्थीहरूलाई सिर्जनात्मक, नवप्रवर्तनशील तथा व्यवहारिक सीपयुक्त बनाउनुपर्ने बताइन् । उनले यस्ता कार्यशालाले विद्यार्थीहरूमा समस्या समाधान क्षमता, तार्किक सोच र प्रविधिप्रतिको रुचि विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन ।


कार्यशालामा सहभागी विद्यार्थीहरूले कम्प्युटरमा डिजिटल डिजाइन तयार गर्ने, रोबोटको संरचना निर्माण गर्ने, इलेक्ट्रोनिक सर्किट जडान गर्ने तथा आफ्नै छुकछुके रोबोटलाई सञ्चालन गर्ने अवसर प्राप्त गर्नेछन्। यस प्रक्रियाबाट उनीहरूले STEAM शिक्षाको वास्तविक प्रयोग र उत्पादन निर्माण प्रक्रियाको अनुभव हासिल गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको सहजीकरण गोदावरी आविष्कार केन्द्र (GiC) ले गरिरहेको छ। आयोजकका अनुसार कार्यशालाले विद्यार्थीहरूमा सिर्जनशीलता, नवप्रवर्तन, टोलीगत कार्य तथा आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।
धनगढी क्षेत्रमा निरन्तर सञ्चालन हुँदै आएको छुकछुके रोबोट निर्माण अभियानअन्तर्गत आयोजित सातौँ संस्करण को यस कार्यशालाले विद्यालयस्तरमै नवप्रवर्तन र उत्पादनमुखी शिक्षाको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। कार्यशालाको अन्तिम दिन विद्यार्थीहरूले निर्माण गरेका रोबोटहरूको प्रदर्शन तथा विशेष प्रस्तुति समेत गरिने कार्यक्रम रहेको छ।















