धनगढी – कैलालीमा अभ्यासका सक्रमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ । मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको हो ।

ग्रिनेड विस्फोटका क्रममा घाइते भएका उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा बिहिबार दिउँसो मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
विस्फोटमा सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको तिमिल्सिनाले बताए ।

जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । बिहीबार बिहान ९ः१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका नेपाली सेनाका मृतक बिष्ट ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए ।

















