खाेज्नुहाेस

कैलालीमा ५ महिनामै २०३ जना लागुऔषधसहित पक्राउ, १० युवती

Image
file photo

अत्तरिया – पछिल्लो समय युवापुस्ता लागुऔषधले जेलिँदै गइरहेको छ । प्रहरीले दिनहुँजसो लागुऔषध प्रयोगकर्ता पक्राउ गरिरहेको छ । कैलालीमा मात्रै ५ महिनाको अवधिमा २०३ जना पक्राउ परेका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिरसम्ममा मात्र प्रहरीले सो संख्यामा लागुऔषध प्रयोगकर्ता पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्कअनुसार जिल्लाको धनगढी उपमहानगरपालिकाबाट मात्रै ६५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चार जना युवती पनि छन् । पक्राउ परेकाहरु सबैजसो युवावस्थाका छन् । १७ वर्ष उमेरदेखि ४० वर्ष उमेर समूहका युवायुवती दुर्व्यसनमा फसेका तथ्याङ्कले देखाउँछ । सो अवधिमा जिल्लाको गोदावरी नगरपालिकाका ४१ जना पक्राउ परेका छन् । जसमा एक जना युवती पनि छिन् ।

add everest academy
attariya hospital

त्यसैगरी, टीकापुर नगरपालिकाका २९ जना, लम्कीचुहा नगरपालिकाका दुई युवतीसहित ११ जना, बर्दगोरिया गाउँपालिकाका ७ जना, घोडाघोडी नगरपालिकाका ६ जना, जानकी गाउँपालिकाका ५ जना, जोशीपुर गाउँपालिकाका ३ जना, भजनी नगरपालिकाका ३ जना, गौरीगंगा नगरपालिकाका एक युवतीसहित २ जना र चुरे गाउँपालिकाका एक जना पक्राउ परेका छन् ।

navjiwan hospital

त्यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३, पुनर्वासका २, बेलौरी र दोधराचाँदनीका १,१ जना गरी ७ जना कैलालीबाट पक्राउ परेका छन् । बझाङका ५ जना, डोटीका एक युवतीसहित ३ जना, बाजुराका ३ र बैतडीका २ जना कैलालीबाट पक्राउ परेका छन् । कैलालीबाटै तीन जना भारतीय पनि लागुऔषधसहित समातिएका छन् भने प्युठान र रुकुमपश्चिमका पनि एक युवतीसहित २ जना पक्राउ परेका छन् ।

यसरी हेर्दा कैलालीमा जिल्लाभित्रका मात्रै नभई सुदूरपश्चिमका बाहिर जिल्लाका लागुऔषध प्रयोगकर्ता पनि आउने गरेको देखिन्छ । भारतीय नागरिकसमेत जिल्लाबाट पक्राउ परिरहेका छन् । खुला सीमानाले गर्दा उनीहरु सहजै प्रवेश गर्ने अवस्था रहेको बताइएको छ ।

attariya technical collage

पछिल्लो समय लागुऔषध दुर्व्यसनीमा किशोरकिशोरी तथा युवापुस्ता फस्ने क्रम बढ्दै गइरहेको देखिन्छ । दुर्व्यसनी नियन्त्रणको प्रयास भइरहेको भएपनि युवापुस्ता यसबाट जोगिन सकेका छैनन् । धेरैजसो साथीहरुको लहलहैमा लागेर दुर्व्यसनीमा फसिरहेका देखिन्छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले खुला सीमाना हुनु नै मुख्य समस्या रहेको बताए । ‘भारतसँगको खुला सीमाना हुनु मुख्य समस्या छ, सहजै आवतजावत गर्न सकिने हुँदा लागुऔषध पनि सहजै पाइरहेका छन’, उनले भने, ‘लागुऔषधको उपलब्धता सहज नभएको भए यो कम हुन्थ्यो होला ।’

उनले लागुऔषध नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु प्रहरीले गरिरहेको बताए । ‘हामीले विद्यालय, समुदायमा गएर यसबारे सचेतना फैलाउने काम गरिरहेका छौँ, तर यतिले पुगेको छैन’, उनले भने । पक्राउ परेकाहरु साथीहरुको लहलहैमा लागेर सेवन गर्न थालेको बताउने गरेका उनले बताए । दुर्व्यसनमा फसिरहेको युवापुस्ता आफै सचेत हुनसके यो क्रम रोकिनसक्ने उनी बताउँछन् ।