डोटी – सरकारले संस्थागत सुत्केरीलाई प्राथमिकता दिए पनि डोटीमा घरमै सुत्केरी हुने क्रम रोकिएको छैन । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा जिल्लाका ४३ महिलाले घरमै बच्चा जन्माएका छन् ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिकामा सबैभन्दा बढी नौ जना घरमै सुत्केरी भएका छन् । आदर्श र बडीकेदारमा आठ/आठ, सायलमा छ, दिपायल सिलगढीमा चार, बोगटान फुड्सिलमा तीन, जोरायल र केआई सिंहमा दुई/दुई तथा शिखरमा एक जना घरमै सुत्केरी भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार ४२ प्रतिशत गर्भवतीले मात्रै आठपटक गर्भ जाँच पूरा गरेका छन् भने प्रसूतिपछि चारपटक स्वास्थ्य जाँच गराउनेको संख्या ४४ प्रतिशत मात्र छ । स्वास्थ्य संस्थामै सुत्केरी नहुँदा आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा पर्ने कार्यालयले जनाएको छ।

















