अत्तरिया – सेवा विस्तार गरिएपनि विशेषज्ञ डाक्टर नहुँदा ओपीडी सेवामा सीमित मालाखेती अस्पताल हाल विशेषज्ञ डाक्टर विहीन बनेको छ । २ महिना अघि एमडीजीपी डाक्टर अन्वेष कोइरालाको सेवा अवधि सकिएपछि हाल अस्पतालमा ३ जना एमबीबीएस डाक्टरले मात्रै सेवा दिइरहेको छन । डेढ वर्ष अघि एमडीजीपी डाक्टर अस्पतालमा हाजिर भएपछि सुरु गरिएका ओटी, इन्डोर सेवा हाल ठप्प अवस्थामा रहेका छन ।
विशेषज्ञ डाक्टर नहुँदा हाल सुत्केरीलाई धनगढी रेफर गर्नुपर्ने अवस्था रहेको छ । लामो समय देखि उपकरण र संरचनाको अभाव झेलिरहेको अस्पताल हाल विशेषज्ञ डाक्टरको अभाव झेलिरहेको हो । अस्पतालमा विशेषज्ञ डाक्टर ल्याउनेको लागि पहल जारी रहेको जनाइएपनि अझै त्यसको सुनिश्चितता भने हुन सकेको छैन ।



अस्पतालका अध्यक्ष डा. नर बहादुर मौनीले अस्पतालमा एमडी सँगै स्त्री रोग विशेषज्ञ डाक्टरको आवश्यकता रहेको बताए । ‘दुई जना विशेषज्ञ डाक्टर भएमा अस्पताल पूर्ण रुपमा सञ्चालनमा आउने थियो । अप्रेसन सेवा सुरु भएर बिरामी भर्ना हुन्थे’ उनले भने ‘अहिले सुत्केरीको अप्रेसन गर्न धनगढी धाउनुपर्ने बाध्यता रहेको छ ।’ उनले अस्पतालमा डाक्टर संगै काम गर्ने वातावरण बनाउन पनि आवश्यक रहेको बताए । ‘जोखिम लिएर काम गर्नको लागि पनि सिनियर डाक्टरको आवश्यकता पर्छ’ उनले भने ‘अस्पतालको सबै जिम्मा नगरपालिकाको भएकाले नगरबाट डाक्टर नियुक्त गर्नुहोस् भनेपछि हामी त्यही अनुसार डाक्टर खोज्न सक्थ्यौ ।’ उनले अस्पतालमा यसअघिका एमडीजीपी डाक्टरको ठाउँमा अर्को एमडीजीपी डाक्टर ल्याउन सके पनि अस्पतालको सेवा सञ्चालनमा सहज हुने बताए ।
गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले महाकाली अस्पतालमा काम गरेका एमडीजीपी डाक्टर योगेश भट्टलाई ल्याउने तयारी भएको बताए । उनले डाक्टर ल्याउने विषयमा कुरा भइरहेकाले एकदुई दिन भित्रमा टुङ्गो लागिसक्ने बताए । उनले डा. भट्टलाई मालाखेती अस्पतालमा ल्याउने विषयमा अस्पतालका अध्यक्ष डा. मौनीलाई समन्वय गर्न भनिसकेको बताए ।
मालाखेती अस्पतालमा हाल बिरामीको चाप बढिरहेको भएपनि डाक्टरको अभावले गर्दा सेवा प्रभावमा समस्या हुँदै आएको छ । अस्पतालमा चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा साढे १४ हजार बढी बिरामीले सेवा लिएका छन । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा अस्पतालको ओपिडीबाट १४ हजार ७०७ बिरामीले सेवा लिएका हुन । ओपीडीमा स्वास्थ्य सेवा लिनेमा ४ हजार १४१ बिरामी स्वास्थ्य बिमा प्राप्तकर्ता रहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक सत्यराज फुलाराले बताए ।

उनले सो अवधिमा ४६३ जना गर्भवतीले चेकजाँच गराएको बताए । अस्पतालमा ५ महिनाको अवधिमा १०७ महिलाले प्रसुती सेवा लिएका छन । मालाखेती अस्पतालमा हाल ३ जना एमबीबीएस डाक्टरको टिमले सेवा दिदै आएको छ । अस्पतालमा अपरेशन, इन्डोर सेवाका लागि पूर्वाधार तयार भएपनि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा भने बन्द अवस्थामा रहेका छन । हाल अस्पतालले बिरामीलाई ओपीडी सेवा मात्रै दिइरहेको छ ।















