अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालको डेन्टल चियर थन्किएको छ । अस्पतालमा डेन्टल सेवा सञ्चालन गर्न चार वर्ष अघि डेन्टल चियर खरिद गरिएको भएपनि जनशक्तिको व्यवस्थापन नहुँदा चियर थन्किएको हो ।
उक्त डेन्टल चियर निक साइमन इन्स्टिच्युट (एनएसआइ) ले उपलब्ध गराएको चार लाख रकमबाट अस्पतालले खरिद गरेको थियो । अस्पतालमा दाँतको समस्या भएका बिरामी आउने भएपनि दन्त चिकित्सक नहुँदा डेन्टल चियर प्रयोगमा आउन सकेको छैन । अस्पतालका प्रशासन प्रमुख नवराज जोशीले ३ महिना जति भोलेन्टियरमा एक जना दन्त चिकित्सकले सेवा दिएपनि त्यसपछि सेवा बन्द भएको बताए । उनले नगरपालिकामा पटकपटक आग्रह गर्दा पनि दन्त चिकित्सक नपठाएपछि सेवा सञ्चालनमा समस्या भएको बताए । मालाखेती अस्पताल हाल नगरपालिका मातहत रहेको छ ।


नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले भने चालु आर्थिक वर्षमा दन्त चिकित्सक नियुक्त गर्नको लागि कार्यपालिकाबाट निर्णय भइसकेको बताए । उनले चिकित्सक नियुक्तिको लागि रातो किताबमै तोकेर बजेट विनियोजन गरिएको बताए । केही दिनमै दन्त चिकित्सकको लागि विज्ञापन आह्वान गरिने उनको भनाइ छ ।

अस्पतालमा दाँत सम्बन्धी समस्या भएका बिरामी आउने गरेका भएपनि बढी समस्या भएका बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । अत्तरिया क्षेत्रमा निजी क्षेत्रबाट करिब आधा दर्जन दाँतका अस्पताल सञ्चालनमा रहेपनि यस क्षेत्रकै ठूलो सरकारी अस्पताल मालाखेतीमा भने अहिले सम्म दाँतको सेवा सुरु हुन सकेको छैन । जसले गर्दा समान्य समस्या हुँदा पनि महँगो शुल्कमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।
मालाखेती अस्पतालमा हाल तिन जना एमबीबीएस डाक्टरले सेवा दिदै आएका छन । कार्तिक २८ गते देखि अस्पतालमा कार्यरत एमडीजीपी डाक्टर अन्वेष कोइराला सँगको सम्झौता अवधि सकिएपछि हाल अस्पतालको सेवा एमबीबीएस डाक्टरले दिने सेवामा खुम्चिएको छ ।

छात्रवृतिमा एमडीजीपी गरेका कोइरालाले २ वर्षे सेवा अवधि अन्तरगत जिल्ला अस्पताल बझाङ र करिब १८ महिना मालाखेती अस्पतालमा कार्यरत रहेका थिए । उनको कार्यकालमा अस्पतालमा इन्डोर, ओटी, इमर्जेन्सी सेवा सञ्चालनमा आएपनि हाल इन्डोर र ओटी सेवा बन्द अवस्थामा रहेका छन ।
अस्पतालका प्रशासन प्रमुख जोशीले अस्पतालमा पुनः एमडीजीपी डाक्टर ल्याउनको लागि प्रक्रिया अगाडि बढाइएको बताए । उनले अस्पतालमा एमडीजीपी डाक्टरको पद खाली भएको जानकारी नगरपालिकालाई गराइसकिएको बताए । हाल मालाखेती अस्पतालमा ओपीडी, एक्सरे, भिडियो एक्सरे, ल्याव, इमर्जेन्सी, फार्मेसी लगायतका सेवा सञ्चालनमा रहेको उनले बताए ।
अस्पतालमा भएका सेवा पनि पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा हाल सामान्य ओपीडी सेवा मात्रै सञ्चालन हुने गरेको छ । अस्पतालमा जनशक्ति व्यवस्थापन गरेर स्थापना गरिएको ओटी, ओपीडी, डेन्टल सेवा सञ्चालन गर्न सके यस क्षेत्रका सेवाग्राहीले धनगढी लगायत निजी अस्पतालमा पुग्नुपर्ने बाध्यता अन्त्य हुने भएपनि त्यसतर्फ भने सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।

















